‘मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधार’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी दिए ।

‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता छैन,’ उनले भने, ‘यस क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति वा सम्झौता भएको छैन ।’

मन्त्री खनालले केही डिजिटल सञ्चारमाध्यममा आएका यस्ता दाबीहरू पूर्णतः आधारहीन रहेको उल्लेख गर्दै सम्बन्धित सरकारी निकायहरूले पहिले नै त्यसको खण्डन गरिसकेको बताए ।

उनले भने, ‘यस सम्बन्धमा केही डिजिटल मिडियामा गरिएका आधारहीन दाबीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन गरिसकेका छन् ।’

नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता नगर्ने सरकारको प्रतिबद्धता रहेको पनि उनले स्पष्ट पारे । ‘नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौता गर्दैन,’ उनले भने ।

मन्त्री खनालका अनुसार मुस्ताङमा खानी हुनसक्ने सम्भावनाबारे प्रारम्भिक अध्ययनहरूले संकेत गरे पनि थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक छ ।

‘अत्यन्त प्रारम्भिक अध्ययनहरूले मुस्ताङमा खानी हुनसक्ने सम्भावना देखाएका छन्,’ उनले भने, ‘तर यस विषयमा थप अध्ययन र अन्वेषण आवश्यक छ ।’ खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =