भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गर्न पुगेको स्पष्ट पारेका छन् ।

बुधवार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त जानकारी दिएका हुन् ।

‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित वा गलत मनसायले नेपाली भूभाग प्रवेश गरेको देखिएको छैन,’ उनले भने, ‘त्यो क्षेत्रको भौगोलिक अवस्था र मौसमका कारण उक्त हेलिकप्टर नेपाली भूभागमा प्रवेश गरेको हो ।’

मन्त्री खनालले घटनापछि नेपाली र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको पनि जानकारी दिए ।

उनले भारतसँगको व्यापार तथा निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार निरन्तर कूटनीतिक प्रयासमा रहेको बताए । विशेषगरी सुपारी र चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि पहल भइरहेको उनको भनाइ थियो ।

‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको छ,’ उनले भने, ‘नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या समाधान गर्न सरकार निरन्तर कूटनीतिक प्रयासमा छ ।’

मन्त्री खनालका अनुसार गत जेठमा भारत भ्रमणका क्रममा उच्चस्तरीय छलफल भएको र त्यसपछि चिया निर्यातमा देखिएको समस्या केही हदसम्म समाधान भएको छ ।

‘गत जेठमा मेरो भारत भ्रमणका क्रममा उच्चस्तरीय तहमा छलफल भएको थियो,’ उनले भने, ‘त्यसको परिणामस्वरूप हाल नेपाली चियाको भारत निर्यात सहज भएको छ ।’

उनले भारत सरकारले हालै आफ्नो नीतिमा केही परिमार्जन गरेसँगै नेपाली निर्यातमा थप सहजीकरण भएको जानकारी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =