सञ्चारमन्त्रीको जोड- चलचित्र विकास बोर्डले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताएका हुन् ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औँल्याए । बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पुर्‍याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दैँ सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राखे ।

बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाईरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बताउन पनि उनले आग्रह गरे ।

संसदमा विचाराधिन रहेको चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको वास्तविक आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

‘चलचित्र विधेयकमा यस क्षेत्रका सरोकारवाला सबैको सुझाव आवश्यक छ । चलचित्रकर्मीका अहिलेका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ,’ उनले भने ।

चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले निरन्तर संवाद र सहकार्यबाट मात्र प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गरे । चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले स्पष्ट पारे ।

कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको अथक योगदानलाई दिए । ‘पुराना पुस्ताका चलचित्रकर्मीको निरन्तर संघर्ष र समर्पणकै कारण नेपाली चलचित्र आजको अवस्थासम्म आइपुगेको हो,’ उनले भने ।

साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा पनि जोड दिन आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, सञ्चारमन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै चलचित्र क्षेत्र त्यसबाट अलग रहन नसक्ने बताए । विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दैँ उनले यस क्षेत्रले पनि नागरिकको आशाअनुसार काम गर्न सक्नुपर्ने बताए ।

चलचित्र उद्योगलाई आर्थिक रूपमा अझ सक्षम बनाउन चलचित्रकर्मीले स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आग्रह गरे ।

‘एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुहोला । चलचित्र उद्योग बलियो भयो भने त्यसको प्रत्यक्ष लाभ कलाकार, प्राविधिक, निर्माता, वितरकदेखि राज्यसम्म सबैलाई पुग्छ,’ उनले भने ।

समारोहमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवद्र्धन आवश्यक रहेको धारणा राखे । नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औँल्याए । चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।

अध्यक्ष डीसीले वरिष्ठ चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षका लागि चलचित्र विकास बोर्डको बजेट पनि चलचित्र उद्योगमैत्री र प्रभावकारी रूपमा आउने विश्वास व्यक्त गर्दै उनले बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच बढाउन थप कार्यक्रम अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =