कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कैलाली। टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथि झुलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ।

केही दिनअघि मात्रै पुल सञ्चालनमा आएपछि कर्णाली नदी, वरपरका हरियाली फाँट र प्राकृतिक सौन्दर्य अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो।

टीकापुर–५ का किरण चौधरीले गर्मीका कारण साँझको समयमा पुल अवलोकन गर्न जाने गरेको बताउँदै आफूले सोचेभन्दा धेरै आगन्तुकको भीड हुने गरेको अनुभव सुनाए।

पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसाय पनि चलायमान हुन थालेका छन्। पुलमा तस्बिर खिच्ने तथा भिडियो सामग्री तयार गर्ने व्यावसायिक फोटोग्राफरको आम्दानीसमेत बढेको छ।

बर्दियाका फोटोग्राफर राजेश चौधरीले यसअघि टीकापुर पार्क र बर्दियाको इन्टेक क्षेत्रमा काम गर्दै आएको भए पनि पछिल्ला केही दिनदेखि पुल अवलोकन गर्न आउने पर्यटककै कारण पर्याप्त आम्दानी भइरहेको र अन्यत्र जानुपर्ने आवश्यकता नरहेको बताए।

पुल निर्माणसँगै कैलालीको टीकापुर र बर्दियाको राजापुरबीचको दूरी पनि छोटिएको छ। यसअघि करिब २४ किलोमिटर यात्रा गर्नुपर्नेमा अब दूरी १५ किलोमिटरमा सीमित भएको छ। साथै, डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।

स्थानीय प्रेमप्रसाद भण्डारीका अनुसार पुलले दुई जिल्लाबीचको आवागमन सहज बनाउनुका साथै पर्यटकीय सम्भावनालाई समेत जोडेको छ। पुल नजिकै रहेको टीकापुर पार्कमा पनि पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ। यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

निर्माण कम्पनी थानी निर्माण सेवाले निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गरेको जनाएको छ। विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको काम सम्पन्न गरी पुल सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए। उनका अनुसार अब पुल हस्तान्तरणको तयारी भइरहेको छ।

यही असार १२ गते पुल उद्घाटन गर्ने तयारी गरिए पनि विभिन्न कारणले कार्यक्रम स्थगित भएको थियो। करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँको लागतमा निर्माण भएको उक्त झुलुङ्गे पुल ४८२ मिटर लामो रहेको कम्पनीले जनाएको छ।

स्थानीय सुन्दरलाल थारुले पुलले आवागमन सहज बनाउनुका साथै कर्णाली क्षेत्रको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने सम्भावना रहेको बताए। उनका अनुसार यसले पर्यटनसँगै अन्य व्यावसायिक गतिविधि विस्तार भई स्थानीयको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ।

यसैबीच, कर्णाली नदीमा थप एक पुल पनि निर्माण सम्पन्न भएको छ। टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल सञ्चालनमा आइसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =