आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए ।

झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर फर्किए ।

विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । जीतबहादुर पनि दालचिनी खेतीमै लागे र विदेश जाने क्रम रोके ।

‘अब विदेश जान्न गाउँमै दालचिनीको खेती गर्छु भनेर यसैमा लागेको छु’, घर आँगनमा दालचिनी स्याहार्दै गरेका उनले भने, ‘वार्षिक पाँचदेखि आठ लाख आफ्नै गाउँमा कमाइ हुँदो रहेछ । किन विदेश गइरहनु ?’ विदेशमै रहेका छोरालाई पनि उनले घर बोलाएको बताए ।

खरबारी, भिर, कान्लामा लगाएको दालचिनीबाट गत वर्ष आफूले सात लाख रुपैयाँको कारोबार गरेको र विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको उनले बताए ।

स्थानीय दमयन्ती दर्लामीले गत वर्ष छोराको बिहे गरिदिए । बिहेमा झण्डै दुई लाख रुपैयाँ ऋण लाग्यो । उक्त ऋणले दमयन्तीलाई निन्द्रा न भोक नै बनायो । ऋणकै कारण एक वर्षसम्म राम्रोसँग रातमा निदाउन नसकेकी दर्लामी हिजोआज भने राम्रैसँग निद्रा लाग्ने गरेको बताउछन् ।

आफ्ना श्रीमान्ले बारीको काल्नाभरि चार वर्ष अगाडि लगाउनुभएको दालचिनीको पात र बोक्राबाट चार लाख रुपैयाँ हात प¥यो । ऋण पनि चुक्ता भयो, झन् केही रकम बचत पनि भएपछि आनन्दले निद्रा लागेको उनी आफ्नो अनुभव सुनाउछन् ।

दर्लामीकै आफन्त टीकाराम ढाडाको पनि कथा र व्यथा उस्तै छ । गत वर्ष बर्सातका कारण ओत लाग्ने बासै गयो । त्यही बास बनाउन उनले चार लाख रुपैयाँ ऋण लिनुप¥यो । त्यो ऋणले उनलाई पनि लामो समय बेचैन नै बनायो ।

भनिन्छ ‘दुख र अफ्ठ्यारोमा परेकाहरूको साथी भगवान् हुन्छन्’ भने जस्तै त्यही वर्ष दालचिनी बिक्रीबाट झण्डै तीन लाख र तेजपात बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ हात प¥यो ।

त्यसले सन्तोषको श्वास लिन सकेको उनी बताउछन् । रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुकी ठूली छोरी कमलाको भविष्यमा नर्स बन्ने सपना थियो । त्यो सपना पूरा गर्न उहाँको पारिवारिक आर्थिक अवस्थाले पुग्दैनथ्यो ।

सारुले पाँच वर्षअघि आफ्नो बाँझो जग्गामा दालचिनी लगाएका थिए । दालचिनीबाट राम्रो आम्दानी हुन्छ भन्ने उनले कल्पनासमेत गरेका थिएनन् तर घरमै बुटवलबाट व्यापारी दालचिनीका बोक्रा लिन आएपछि उनले बल्ल यसबाट राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाए ।

उनले गत वर्ष दालचिनीका पात र बोक्रा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्न सफल भए । त्यही आम्दानीबाट अहिले छोरीको नर्स बन्ने सपना पूरा गर्दै छन् ।

यस्तै निस्दीको ज्यामिरेका खेमबहादुर सोतीले दुई लाख हालेर ल्याएको बेहुनी भैँसी गत वर्ष गोठमा भएको आगलागीमा परेर म¥यो ।

दूध र घ्यू बिक्रीबाट आम्दानी गर्ने सोच बनाएर झण्डै लाखौँँ खर्चेर भैँसी किनेर ल्याएका उनले भैंसी नै नरहेपछि त्यही भैंसी किन्दा लागेको ऋण तिर्नकै लागि भारत जाने तयारीमा थिए तर साथीभाइले खेर गएको तेजपातको बिक्रीबाट राम्रो कमाइ हुन्छ भनेपछि उनी रोकिए ।

नभन्दै गत वर्षको दसैँमा सोतीले तेजपात बिक्रीबाट तीन लाख रुपैयाँ हात पार्नुभयो । त्यही आम्दानीले भैँसीको ऋण तिर्न सकेको उनी बताउछन् ।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । यहाँका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

एक पटकको लगानी र कम मिहेनतमा पनि यहाँका किसानले वार्षिक पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउन सफल भएका हुन् ।

खेर गएको जग्गामा लगाएको दालचिनीका बोटबाट पात र बोक्रा बेचेर मनग्य आम्दानी गर्न सकिनेमा किसानहरू पूर्णतः विश्वस्त देखिन्छन् ।

भिरालो जग्गा र खेती गर्न नसकिने जग्गामा पनि दालचिनीका बोट लगाएर आम्दानी गर्न सकिने कचलका व्यावसायिक कृषक थर्कबहादुर बगालेले बताए ।

अन्य खेतीबाट भन्दा दालचिनीबाट फाइदा भएपछि खेतीयोग्य जग्गामा समेत मानिसले दालचिनीका बोट रोप्न थालेको उनले बताए । दालचिनी मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने कच्चा वस्तु हो ।

दुई रोपनी क्षेत्रफलमा लगाएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । दालचिनी रोपेको तीन वर्षमै आम्दानी गर्न सकिने बगाले बताउछन् । दालचिनीको बोक्रा र पातले समेत राम्रो मूल्य पाएपछि यहाँका किसानहरू यसतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय मानिस गाउँमा बस्न छाडेको र गाउँमा बसोबास गर्ने किसानका बालीसमेत बाँदरले खान थालेपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । गाउँ छाडेर सहरमा बसाई गर्ने मानिसले समेत अचेल गाउँको खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेका छन् ।

जिल्लाको रैनादेवी छहरास्थित खुर्सेनी, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, भुवनपोखरी, तिनाउको कचल, दोभान, कोलडाँडा, सत्यवती, ज्यामिरे, बेरुवा, जन्तिलुङ्ग, माथागढीको झडेवा, जगाद गोठादी, भुटुके, रम्भा, पूर्वखोला, निस्दीको अर्चले, ज्यामिरे, भिरपानी, धवला, अदममारा, धनुबाँसलगायतका क्षेत्रबाट वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ ।

भारत तथा अन्य मुलुकमा मसला, सुगन्धित तेल लगायतका विभिन्न किसिमका औषधि निर्माणको लागि कच्चा पदार्थको रुपमा प्रयोग हुँदै आएको दालचिनीखेती अहिले पाल्पामा व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ ।

दालचिनी उत्पादनको क्षेत्रमा यातायातको सहज पहुँच पुगेपछि जिल्ला वन कार्यालय पाल्पाले बजार व्यवस्थापन, बिरुवा वितरण, खेती विस्तार तथा प्रवद्र्धनका लागि क्षमता अभिवृद्धिका तालिमले कृषकलाई हौसला बढाएपछि अहिले व्यावसायिक रूपमा दालचिनी खेती हुन थालेको हो ।

छ वर्षमा ६८ लाख केजी निर्यात

पाल्पाबाट छ वर्षको अवधिमा ६८ लाख नौ हजार ३७ किलोग्राम तेजपात र दालचिनीका बोक्रा निकासी भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८४ हजार ४८२ किलोग्राम तेजपात र तीन लाख ४७ हजार ९६९ किलोग्राम दालचिनीका बोक्रा भारत निकासी भएको हो ।

यस्तै आव २०८१/८२ मा आठ लाख ८१ हजार सात सय ३१ किलोग्राम तेजपात र एक लाख २१ हजार १० किलोग्राम दालचिनीका बोक्रा निकासी भएको छ । यहाँ उत्पादित तेजपात र दालचिनीको प्रमुख बजार भनेको भारत हो । यसलाई भारतमा औद्योगिक कच्चा पदार्थ र मसलाजन्य बस्तुको रूपमा प्रयोग हुने गर्दछ । यहाँका कृषकले सामान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र बोक्रा दालचिनी प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गर्ने गर्दछन् ।

तेजपात र दालचिनी यहाँका नागरिकहरूको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । उनले भने, ‘विपन्न वर्गका नागरिकहरूका लागि यो सहारानै बनेको छ । यसको प्रभाव सकारात्मक परेका कारण प्रत्येक वर्ष बिरुवाको माग बढ्दो छ ।’ समुदायमा पुगेर आर्थिक क्षेत्रमा यसको महत्त्व, नर्सरी स्थापनादेखि भण्डारण, बजारीकरण, कृषकलाई तालिम दिँदै आएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगारमा जान चाहने युवाहरू समेत अहिले दालचिनी व्यवसायिक खेतीतर्फ लागेका छन् ।

घरमै पुग्छन् स्थानीय व्यापारी

स्थानीय व्यापारी बोक्रा र पात खरिद गर्न घर–घरसम्म आइपुग्छन् । पछिल्लो समयमा दालचिनीको पातबाट किसानले ६० रुपैयाँ र बोक्राबाट एक सय १५ रुपैयाँसम्म गाउँमै पाउने गरेका छन् । गोदाम रहेको स्थानसम्म लग्ने हो भने १०/१५ रुपैयाँ बढी मूल्य पाउँछन् । त्यहाँ तोकिएको मूल्यअनुसार तौलेर ल्याएको दालचिनी ठूला व्यापारीहरूले गोदाममार्फत भारत निकासी गर्दै आएका छन् ।

तेजपात दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार हाल कृषकको घरमै पुगेर दालचिनीको बोक्रा खरिद गर्ने गरिएको बताउनुभयो । परम्परादेखि नै हुने यहाँका ख¥यान, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बोट प्रशस्त छन् ।

सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै किसानले बाँकी खाली जग्गामा पनि बिरुवा लगाएका हुन् । दालचिनी बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफू अनुकूल काट्ने गरिन्छ ।

भान्साको ओखती दालचिनी

दालचिनीलाई दालचिनीबाहेक कतिपयले सुनकाउली, तेजपात भन्छन् । सामान्यतः दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको स्वाद मीठो हुनुको साथै बास्नादार पनि हुन्छ । दालचिनीको उपयोगिता स्वाद बढाउनमा मात्र छैन, विभिन्न औषधीय गुणले भरिपूर्ण समेत छ ।

दालचिनी खासमा रुखको बोक्रा हो । तेजपत्ता भनेर चिनिने यसको पात पनि स्वादिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ । दालचिनीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ । साथै, दालचिनीमा एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्त्वसमेत पाइन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाहरूमा बढी प्रयोग हुने दालचिनी र तेजपत्ता मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी मानिन्छ ।

एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय बिरुवा लगाउन सकिने दालचिनीको स्थानीय तहमा प्रशोधन केन्द्र स्थापना गर्नतर्फ प्रदेश र सङ्घीय सरकारले पहल गरेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार बन्नुको साथै रोजगारीको अवसर सिर्जना हुने र स्वदेशी कच्चा पदार्थको प्रयोगको कारण उद्योग कलकारखाना फष्टाउने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =