गोकर्णेश्वरको बजेट : पूर्वाधारदेखि भाषा–संस्कृति संरक्षणसम्म प्राथमिकता

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. २ अर्ब ८ करोड ५० लाख ५२ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। असार १० गते बसेको नगरपालिकाको १७औँ नगर सभा बैठकमा मेयर दीपक कुमार रिसालले बजेटसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नगरको समग्र, सन्तुलित र दिगो विकासलाई केन्द्रमा राखेर ल्याइएको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा भाषा–संस्कृतिको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध गोकर्णेश्वरको मौलिक पहिचान जोगाउने उद्देश्यसहित पालिकाले भाषा, धर्म, संस्कृति, कला र साहित्य संरक्षणका विभिन्न कार्यक्रम अघि सारेको छ। आगामी आर्थिक वर्ष धार्मिक तथा ऐतिहासिक स्थल, मठमन्दिर, गुम्बा, चैत्यलगायत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, जीर्णोद्धार र व्यवस्थापन गरिनेछ। स्थानीय कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि स्रष्टा सम्मान, पुरस्कार स्थापना तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिइएको छ। नगरभित्र रहेका रैथाने भाषा, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

तीव्र सहरीकरणको दबाब झेलिरहेको नगर क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार र स्तरोन्नतिलाई बजेटको प्रमुख प्राथमिकतामा राखिएको छ। सडक कालोपत्रे तथा स्तरोन्नति, ढल व्यवस्थापन, खानेपानी आपूर्ति प्रणाली सुधार, सार्वजनिक भवन निर्माण तथा सार्वजनिक स्थलहरूको संरक्षण र नयाँ विकास आयोजनाको सुरुआत गरिनेछ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा विद्यालय पूर्वाधार सुधारका कार्यक्रम सञ्चालन गरिनेछन्। स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आधुनिक उपकरण व्यवस्थापन तथा निःशुल्क एवं सहुलियतपूर्ण जनस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकलाई प्राविधिक सहयोग र सामग्रीमा सहुलियत उपलब्ध गराउने योजना बजेटमा समेटिएको छ। साथै युवाको सीप विकास र स्वरोजगारमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि खेल पूर्वाधार निर्माण तथा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको सशक्तीकरण र आयआर्जनका कार्यक्रमलाई पनि बजेटले समेटेको छ। वातावरण संरक्षण, वृक्षारोपण, फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन, हरित विकास तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। साथै डिजिटल प्रणालीको विस्तार र प्रशासनिक सुधारमार्फत सेवा प्रवाहलाई थप पारदर्शी, सरल र नागरिकमैत्री बनाउने नीति नगरपालिकाले लिएको छ।

नगर सभा बैठकमा उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, कार्यपालिका सदस्य, वडा अध्यक्ष, नगर सभा सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको  सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =