विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० पखेटामा चिरा, १६ विमान जाँचमा

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ ।

प्रभावित विमानमध्ये अधिकांश एमिरेट्स एयरलाइन्सले सञ्चालन गरिरहेका छन् ।

युरोपेली सङ्घ (इयु) को उड्डयन सुरक्षा निकाय इएएसएले नियमित मर्मत परीक्षणका क्रममा पखेटाको महत्त्वपूर्ण संरचनामा समस्या भेटिएपछि सम्बन्धित विमानहरूको तत्काल निरीक्षण गर्न निर्देशन दिएको एयरबसले जनाएको छ । पखेटाभित्र रहेको उक्त संरचनात्मक बीमले उडानका क्रममा विमानमा पर्ने ठूलो वायुगतिकीय भार वहन गर्ने गर्दछ ।

निरीक्षणमा समावेश गरिएका १६ विमानमध्ये १५ वटा एमिरेट्स र एउटा क्वान्टास एयरलाइन्सले सञ्चालन गरिरहेका छन् । तीमध्ये पाँचवटा एमिरेट्सका विमानमा तत्काल जाँच आवश्यक रहेको बताइएको छ ।

एमिरेट्सले आगामी ४८ घण्टाभित्र निरीक्षण प्रक्रिया सुरु गरिने र आवश्यक मर्मतपछि मात्र विमानहरू पुनः सेवामा फर्काइने जनाएको छ । कम्पनीले उडान तालिकामा न्यूनतम असर पार्ने गरी एयरबस र सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताएको छ ।

ए३८० सञ्चालन गर्ने वायुसेवामा एमिरेट्स, सिङ्गापुर एयरलाइन्स, ब्रिटिस एयरवेज, क्वान्टास, लुफ्थान्सा, कतार एयरवेज, कोरियन एयर, एतिहाद एयरवेज, एएनए र एसियाना एयरलाइन्स रहेका छन् । विश्वकै सबैभन्दा ठूलो ए३८० फ्लीट एमिरेट्ससँग छ र यसले सञ्चालनमा रहेका आधाभन्दा बढी सुपरजम्बो उडाउँदै आएको छ ।

सन् २०२१ मा एयरबसले ए३८० उत्पादन बन्द गरिसकेको भए पनि यी विमानहरू अझै लामो दूरीका अन्तर्राष्ट्रिय उडानमा व्यापक रूपमा प्रयोग भइरहेका छन् ।

एयरबसका अनुसार डिसेम्बर २०२५ मा जारी गरिएको प्राविधिक निर्देशनपछि गरिएको परीक्षणका क्रममा पखेटाको संरचनात्मक मजबुतीमा असर पार्न सक्ने चिराहरू फेला परेका थिए । एउटै उत्पादन समूहका अन्य विमानहरू पनि पहिचान गरिएको कम्पनीले जनाएको छ ।

बाँकी ११ विमानको निरीक्षण निर्धारित उडान चक्र पूरा हुनुअघि गरिनेछ । एक उडान चक्रमा टेकअफ र अवतरण दुवै समावेश हुन्छ ।

ए३८० विमानले यसअघि पनि पखेटासम्बन्धी समस्या सामना गरेको थियो । सन् २०१२ मा पखेटाको बाहिरी भाग र भित्री संरचनालाई जोड्ने भागमा चिरा देखिएपछि विश्वभरका ए३८० विमानहरूको निरीक्षण गरिएको थियो । त्यसपछि एयरबसले नयाँ विमानमा डिजाइन परिवर्तन गरी समस्या समाधान गर्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =