इरानको दाबी: अमेरिका पराजित

एजेन्सी । मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच भएको सम्झौताले अमेरिकी दबाबको विजय नभई अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबफले बताएका छन् ।
उनले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दाबी गरे ।
अजरबैजानको राजधानी बाकुमा बुधबार आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै गालिबफले पाकिस्तानको मध्यस्थतामा सम्पन्न ‘इस्लामाबाद समझदारी’ कुनै दबाब वा जबर्जस्तीको उपज नभएको बताए । उनका अनुसार इरानी जनताको दृढ प्रतिरोध र राष्ट्रिय अधिकारको रक्षाले नै उक्त सहमति सम्भव भएको हो ।
उनले इस्लामाबादमा भएको सहमतिलाई अमेरिकाको पराजयको घोषणापत्रको रूपमा व्याख्या गर्दै मध्यपूर्वको सुरक्षा क्षेत्रीय देशहरूले नै सुनिश्चित गर्नुपर्ने धारणा राखे । विदेशी सैन्य उपस्थितिले स्थायी सुरक्षा स्थापना गर्न नसक्ने र बरु अस्थिरताको स्रोत बन्ने उनको भनाइ थियो ।
गालिबफले मध्यपूर्वबाट विदेशी सैन्य शक्तिको फिर्तीलाई इरानको दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा उल्लेख गरे । उनका अनुसार क्षेत्रीय सुरक्षा बाह्य हस्तक्षेपबाट नभई क्षेत्रीय सहकार्य र आपसी समझदारीबाट सम्भव हुन्छ ।
संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा सैन्य आधारहरू कायम राख्दै आएको छ । युद्धका क्रममा अमेरिकी र इजरायली सेनाले इरानमाथि गरेको बम आक्रमणको प्रत्युत्तरस्वरूप इरानले पनि केही आयोजक तथा साझेदार मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।
गालिबफले क्षेत्रको भविष्य द्वन्द्वमा नभई सहकार्यमा रहेको बताउँदै विनाशको सट्टा सहअस्तित्व आवश्यक रहेको धारणा व्यक्त गरे । उनको यो अभिव्यक्तिलाई इरानी आक्रमणको निशानामा परेका खाडी राष्ट्रहरूप्रति सन्देशका रूपमा पनि हेरिएको छ ।
इरानका प्रमुख वार्ताकारले लेबनानमा स्थायी शान्ति स्थापना हुनु वासिङ्टनसँग भएको सहमतिको महत्त्वपूर्ण आधार रहेको दोहोर्याए । उनका अनुसार लेबनानमा युद्धविराम कायम हुनु इरानमा युद्धविराम कायम हुनुसँग समान रूपमा महत्त्वपूर्ण छ ।
उनले लेबनानमा युद्धको अन्त्य र इरानमा युद्धको अन्त्य एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै क्षेत्रीय स्थायित्वका लागि दुवै मोर्चामा शान्ति अपरिहार्य रहेको बताए ।









