नेपालगन्जमा ३ दिन विद्यालय बन्द

नेपालगन्ज (बाँके) । अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ । यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो ।

गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार १०, ११ र १२ गते विद्यालय बन्द गरिने भएको छ ।

उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले जल तथा मौसम विज्ञान विभागलगायतको सुझावका आधारमा तीन दिन विद्यालय तहका सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिए । उनले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएका हौँ’ भने ।

नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक विद्यालय ३९ गरी कुल १६३ विद्यालय रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस रहेको छ ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ४० र खजुरामा ३९.६ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =