क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।

पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ ।

सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ । निदान नभएका क्षयरोगीका कारण समुदायमा क्षयरोग फैलने जोखिम उच्च भएकाले पालिकाले निदानलाई प्राथमिकता दिएर काम गरिरहेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले बताए ।

“क्षयरोगका बिरामीलाई पोषिलो खानेकुरा चाहिन्छ, हामीकहाँ गरिब परिवारका सदस्यमा क्षयरोग धेरै देखिने गरेको छ”, उनी भन्छन्, “त्यसैले अति गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका हौँ ।”

पालिकाले नियमित रुपमा पोषण सहयोग गर्ने गरेको छ । गत वर्ष ११७ जनालाई पोषण सहयोग गरेको थियो ।

“अभियानलाई हामीले तीव्र बनाएका छौँ, तर बजेट घट्दै गएको छ”, अधिकृत रावलले भने, “यस वर्ष क्षयरोग मुक्त पालिका अभियानका लागि रु सात लाखमात्र बजेट थियो । गत वर्ष रु २४ लाख ३३ हजार बजेट थियो । केन्द्रले नै बजेट घटाउँदै लगेको छ ।”

क्षयरोगका बिरामीको खोज पड्तालका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने, क्षयरोग स्वयंसेवक हरेक वडामा खटाएको, निदानका लागि शिक्षक, बडघर, भल्मन्सालाई परिचालन गरेको पालिकाले जनाएको छ ।

यसका साथै क्षयरोगी निदानका लागि समुदायमै परीक्षण शिविर, एआई एक्स–रे मेसिनबाट परीक्षणजस्ता काम भइरहेका विजयनगर सहरी स्वास्थ्य केन्द्रका क्षयरोग स्थानीय स्रोत व्यक्ति स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले बताए ।

यहाँ क्षयरोग निदान र नियन्त्रणका लागि निःशुल्क खकार परीक्षण, टीकापुर अस्पतालमा जिनएक्सपर्ट प्रविधिबाट क्षयरोग निदान गरिने गरिएको छ ।

“समुदायमा खोज पड्ताल नियमित रुपमा गरिरहेका छौँ”, पोख्रेलले भने, “विद्यालय, समुदाय र मिडियामार्फत पनि क्षयरोगसम्बन्धी जनचेतना जगाउने काम भइरहेका छन् । हामीले क्षयरोगीको सम्पर्कमा रहेका परिवारका सदस्यको पनि स्क्रिनिङ तथा परीक्षण गर्ने गरेका छौँ ।”

पालिकाले औषधि प्रतिरोधी क्षयरोग पहिचानका लागि धनगढी वा नेपालगञ्ज जानुपर्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ । टीकापुरमा यस वर्ष १७४ क्षयरोगका बिरामी भेटिएका छन् ।

टीकापुर अस्पतालसहितका टीकापुरका सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि ‘डट्स’ कार्यक्रम सञ्चालनमा छ ।

यहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधि सेवन गराउने, औषधि बीचमै छोड्ने समस्या कम गर्ने कार्यमा सघाउने गरिएको छ । देशैभरिका स्वास्थ्य संस्थामा क्षयरोगको सबै उपचार निःशुल्क हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =