पाकिस्तानको खैबर पख्तुनख्वामा दुईवटा बम विष्फोटः सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा दुईवटा निजी सवारी साधनलाई लक्षित गरी गरिएका दुई क्रमिक विष्फोटमा परी सात जनाको मृत्यु भएको छ ।
प्रहरी स्रोतकाअनुसार उक्त घटनामा अन्य तीन जना घाइते भएका छन् । पहिलो विष्फोट खैबर पख्तुनख्वाको बन्नु जिल्लामा स्थानीय समयअनुसार बिहान ५ः२० बजे भएको थियो ।
दुर्गम क्षेत्रमा रिमोट कन्ट्रोलमार्फत एउटा सवारी साधनलाई लक्षित गरी विष्फोट गराइएको प्रहरीले जनाएको छ । पहिलो विष्फोटका घाइतेहरूलाई उद्धार गरी अस्पताल लैजाने क्रममा करिब एक किलोमिटरको दूरीमा दोस्रो विष्फोट भएको थियो ।
घटनालगत्तै उद्धार टोलीले मृतकको शव र घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याएका थिए । सुरक्षा बल र कानुन कार्यान्वयन गर्ने निकायहरूले उक्त क्षेत्रलाई घेरा हाली प्रमाण संकलन गर्नुका साथै अनुसन्धान शुरु गरेका छन् ।
स्रोतकाअनुसार मृतक र घाइते सबै स्थानीय हात्ती खेल जनजातिका सदस्य हुन् । यस जनजातिका सदस्यहरू प्रतिबन्धित आतंककारी समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) को प्रभावलाई कम गर्न गठित स्थानीय शान्ति समितिमा आबद्ध रहेका थिए ।
हालसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर विद्रोही विरोधी गतिविधिमा संलग्न भएकै कारण उनीहरूलाई लक्षित गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यस क्षेत्रमा थप विष्फोटक पदार्थ हुनसक्ने आशंकामा सुरक्षा निकायले व्यापक खानतलासी अभियान (सर्च अपरेशन) जारी राखेको छ ।
यसैबीच, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले उक्त आक्रमणको कडा निन्दा गरेका छन् । उनीहरूले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै आक्रमणकारीहरूलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।









