सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी भएन: महामन्त्री पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन् ।
शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताएका हुन् ।
सरकारको सय दिने कार्ययोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उनले सय दिनमा सय काम गर्ने घोषणा गरेको भएपनि कतिपय कामबारे छलफलसमेत हुन नसकेको बताए । उनले सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने सुझाव दिए ।
नेपाली काँग्रेसले सरकारका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको समेत उनले स्पष्ट पारे । पार्टीको आन्तरिक विषय र आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा बोल्दै महामन्त्री पौडेलले पार्टीभित्र केही असन्तुष्टिहरू रहेको स्वीकार गरे । यस्ता असन्तुष्टिहरू पहिले पनि हुने गरेको उल्लेख गर्दै उनले अहिलेको समस्यालाई व्यवस्थापन गर्न नेतृत्वले संवाद र छलफल गरिरहेको जानकारी दिए ।
उनले भने ‘सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफल समेत भएको छैन । काम पूरा हुनु त धेरै टाढाको कुरा हो । पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ । आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता र अग्रजहरूको सम्मानजनक सहभागिता हुनेछ । महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन् ।’
महामन्त्री पौडेलले आगामी महाधिवेशनलाई सबैको अपनत्व महसुस हुने गरी समावेशी र उत्साहजनक रूपमा सम्पन्न गर्न पार्टी पंक्ति क्रियाशील रहेको समेत बताए ।









