रास्वपाका प्रवक्ता झाद्वारा महाधिवेशनस्थलको निरीक्षण

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशनस्थलको निरीक्षण गरेका छन् ।
भरतपुर–१० स्थित गेष्टहाउस चौरमा निर्माण भइरहेको स्थलको उनले आज निरीक्षण गरे । सो अवसरमा उनले तयारी अन्तिम चरणमा पुगेको भन्दै केन्द्रीय नेता र प्रतिनिधिहरू आउने क्रम सुरु भएको जानकारी दिए ।
उनले चितवन रास्वपाको उद्गमस्थल भएको भन्दै पार्टीले राजनीतिको आधारस्तम्भका रूपमा लिएको बताए । “चितवन आएपछि मन घण्टीमय र उल्लासमय हुन्छ”, उनले भने, “रास्वपाको राजधानी नै चितवन हो ।”
उनले चितवन हरेक सम्भावनाले भरिपूर्ण जिल्ला भएको भन्दै अर्थतन्त्र, पर्यटन र संस्कृतिको धनी जिल्ला भएको उल्लेख गरे । देशभरबाट आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।
प्रवक्ता झाले उद्घाटनसत्रमा १० हजारभन्दा बढीको सहभागिता रहने जानकारी दिए ।









