चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो ।
चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् ।
‘वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,’ निर्देशक पौडेलले भने, ‘यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’
हतारमा आउनुभन्दा पनि सबैलाई अनुकूल हुनेगरी पोस्टप्रोडक्सनमा पनि समय लिएर आउन लागेको उनले प्रस्ट पारे ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भइसकेको छ । छायांकनका क्रममाा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि अहिले निर्माण टिमले केही समयलाई ब्रेक लिएको छ । बाँकी छायांकन असार १५ पछि मात्रै हुनेछ ।
अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए । यो चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
यस्तै चलचित्रमा कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह(निर्मातामा छन् । बाबु श्रेष्ठले छायांकन रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।









