७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि अधिकांश सडकहरू ‘मृत्युमार्ग’जस्ता छन्: पूर्वउपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले देशका ७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि सडक पूर्वाधारको अवस्था अझै पर्याप्त नरहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ पहिलो वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनकाअनुसार हाल नेपालमा करिब एक लाख चार हजार नौ सय किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । उनले सडक सञ्जाल पुगेसँगै सबै जिल्लाका नागरिकले यातायात सुविधा पाएपनि कर्णालीलगायतका दुर्गम क्षेत्रमा अझै पहुँच सहज हुन नसकेको बताए । उनले सडक पूर्वाधारको गुणस्तर कमजोर हुँदा दुर्घटना बढिरहेको भन्दै सडकहरू ‘मृत्युमार्ग’ जस्तो बनेको टिप्पणी गरे ।

सडक दुर्घटना पनि मुलुकमा मृत्युको प्रमुख कारणमध्ये एक रहेको उनको भनाइ छ । उनले हाल ९७ प्रतिशत नागरिकले पिउने पानी पाइरहेको बताए । तर गुणस्तरीय र नियमित खानेपानीको सुनिश्चितता अझै चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।

उनले भने ‘अहिले देशका ७७ वटै जिल्लामा बाटो पुगेको छ । अहिले नेपालको जम्मे बाटो एक लाख चार हजार नौ सय छ । अहिले हरेक जिल्लाका मानिसहरू गाडीमा घर जानसक्छन् । तर त्यो अझै पर्याप्त छैन । कर्णालीमा पुग्न अझै गाह्रो छ । अनि हाम्रा सडकहरू फेरी मृत्युमार्गजस्ता भएका छन् । मृत्यु हुने कारणहरू धेरै भएपनि सडक दुर्घटना पनि मुख्य कारण छ । हामीले गरेका छौँ तर अझै गर्न बाँकी छ । कहिले काहीँ मुलुकमा केही भएन भन्ने भाष्य पनि आउँछ । त्यस्तो होइन । अहिले ९७ प्रतिशत नागरिकले पानी पाएको छ । तर सन्तुष्ट भइहाल्ने वातावरण छैन । गुणस्तरीय पिउने पानी पाएको छैन । यहाँ काठमाडौँमा पनि मेलम्ची आएको छ । कहिले धेरै आउँछ कहिले आउँदै आउँदैन । व्यवस्थापकीय कमजोरीको कारण अनियमित हुने गरेको चाहिँ छ ।’

उनले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपनि व्यवस्थापकीय कमजोरीका कारण आपूर्ति नियमित हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =