सरकारका गतिविधिहरुले राम्रो संकेत दिएको छैनः एमाले सांसद पोखरेल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारका गतिविधिले राम्रो संकेत नदिएको टिप्पणी गरेका छन् । कर्मचारीलाई आतंकित गर्ने, अपमानजनक व्यवहार गर्ने तथा अपशब्द प्रयोग गर्ने प्रवृत्तिले प्रशासनिक संयन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहले दिएको राष्ट्रघाती अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याए । साथै, बीवाईडी प्रकरणमा करछली भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

उनले सरकार सनकका आधारमा अघि बढेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले मुलुकलाई सही दिशामा लैजान नसक्ने बताए ।

सांसद पोखरेलले भने, ‘अनुसन्धान गर्नुपर्छ, त्यसमा कसैको आपत्ति छैन। तर कर्मचारीलाई आतंकित गर्ने, अपमान गर्ने र अपशब्द प्रयोग गर्ने गतिविधि राम्रो संकेत होइन। कर्मचारीमाथि जुन प्रकारको दबाब र त्रास सिर्जना गरिएको छ, त्यसले प्रशासनिक प्रणालीलाई कमजोर बनाउँछ ।’

उनले राजनीतिक दलहरूले विभिन्न ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै संविधान निर्माणसम्मको यात्रा तय गरेको स्मरण गराउँदै संविधानसभामार्फत जारी भएको संविधानको मर्म र संस्थागत प्रक्रियाको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र बीवाईडी प्रकरणबारे निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र बीवाईडी प्रकरणको छानबिन गर्न म हार्दिक आग्रह गर्दछु ।’

उनले वर्तमान सरकारको कार्यशैलीले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ नभई दुर्घटनातर्फ लैजान सक्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =