रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो (तस्बिरहरू)

काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको छ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथारोहणपछि शुभ साइतअनुसार ठटी टोलमा रोकिएको रथलाई जावलाखेलस्थित ललितमण्डपमा लगिएको हो ।

रथ जावलाखेल पुर्‍याएको चार दिनपछि परम्पराअनुसार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइन्छ । यस वर्ष असार ६ गते शनिबार राष्ट्र प्रमुखबाट भोटो देखाइने कार्यक्रम रहेको छ ।

ललितमण्डपमा रहेका बेला रातो मत्स्येन्द्रनाथको दैनिक पूजाआजा तथा दर्शनका लागि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

पाटनको पुल्चोकबाट सुरु हुने यस जात्रामा भगवान मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखी शहरका विभिन्न ठाउँमा घुमाइन्छ । पुल्चोकबाट मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल पुर्याएपछि भोटो देखाइन्छ । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।

करिब एक हजार ६०० वर्ष रातो ममत्स्येन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =