जनार्दनको प्रश्न- ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तर्विरोधका कारण विघटनको संघारमा पुगेको बताएका छन् ।

बुधवार आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले मार्क्सवादी दर्शनलाई आत्मसात् गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताएका हुन् ।

मार्क्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको उनले बताए । उनकाअनुसार किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्यधिक झुकाव तथा जडसूत्रीय ढंगले मार्क्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो । शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाए ।

भनाइमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उनको दाबी छ । उनले आफूमा समेत यस्तो कमजोरी देखिएको स्वीकार गरे ।

उनले भने ‘मार्क्सले भन्नुभएको दार्शनिकहरूले विभिन्न तरिकाले व्याख्या मात्र गर्नुभएको छ तर मुख्य कुरा बदल्ने हो भन्ने कुरा नै मार्क्सवादी दर्शनको सारवस्तु हो । यो सारवस्तुलाई आत्मसात् गर्न नसक्दा किताबी दर्शन र जीवन व्यवहारको दर्शनमा अन्तर्विरोध हुँदा नेपाली कम्युनिस्ट आन्दोलन आज विघटनको अन्तिम संघारमा पुगेको छ । एकातिर संसदवाद र संसदवादको आदर्शवादको बाटो अवलम्बन गर्ने एउटा मुख्य जिम्मेवार शक्ति अथवा पात्रहरू छन् भने अर्कोतिर जडसुत्रीय ढंगले फेरि मार्क्सवादलाई कुण्ठित गर्नेहरू छन् । यी दुवै समस्याका कारणले नेपाली कम्युनिस्ट आन्दोलन दर्शनलाई, अझ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्ने, जगत समाज सबैलाई परिवर्तन गर्नका लागि त्यसको त्यो मान्यताका आधारमा अगाडि बढ्नुको सट्टामा हामी कहाँ सम्म आइपुग्यो भने भौतिकवादी नेताहरूले भौतिकवाद र आदर्शवादको फ्युजनको कुराहरू जब अगाडि आए, त्यतिबेलादेखि अझ देखिने गरी किताबी दर्शन र जीवन व्यवहारको दर्शनको अन्तर महसुस हामीले गयौँ । त्यस्तै स्कुलिङ, त्यस्तै प्रशिक्षण, त्यस्तै व्यवहारहरूबाट भनाइमा भौतिकवादी, जीवनमा आदर्शवादी मान्यता राख्ने कम्युनिस्ट नेताहरूको कारणले गर्दाखेरि यो स्थिति आयो, त्यो ममा पनि, अरुमा पनि र मुख्य नेताहरूमा देखिएका यी समस्याहरूको कारणले आज कम्युनिस्ट आन्दोलन विघटनको संघारमा छ ।’

उनले नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ कि छैन भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको बताए । कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी भन्ने हो ? उनको प्रश्न छ । उनले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको जीवनसँग जोडिन नसकेको आरोप लगाए । जनतासँग जोडिएको दाबी गर्ने शक्तिहरू पनि आदर्शवादी ढंगले अघि बढेको उनको टिप्पणी छ ।

उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लिंग समुदायको नेतृत्व गर्न तथा उनीहरूको जीवनमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलन असफल भएको दाबी गरे । सुकुम्वासीहरू विस्थापित हुनुपर्ने, तल्लो वर्ग राज्यका साधन–स्रोतबाट वञ्चित रहनुपर्ने तथा भाषिक, सांस्कृतिक, वर्गीय र जातीय विभेद कायम रहनु कम्युनिस्ट आन्दोलनको कमजोरीको प्रमाण भएको उनको भनाई छ ।

वर्तमान राजनीतिक अवस्था आउनुमा कम्युनिस्ट दलहरूकै कमजोरी मुख्य कारण भएको उनको भनाई छ । जनताका समस्यामा दृढतापूर्वक उभिन नसक्नु र भ्रष्टाचारजस्ता कार्यमा संलग्न भएका कारण कम्युनिष्टहरुको जनसमर्थन घटेको उनले बताए ।

उनले भने ‘कसलाई कम्युनिष्ट पार्टी भनेर भन्ने हो आज ? यो कुन सिद्धान्तका आधारमा कम्युनिष्ट पार्टी मान्ने हो ? कम्युनिष्ट पार्टीले जनताको जीवनसँग जनतासँग जोडिएकै छैन, भन्ने कुरा देखिसकियो । जोडिनै चाहन्न भन्नेकुरा पनि देखिएको छ । जोडिएकाहरू भन्नेहरू आदर्शवादी ढंगले अगाडि बढेको कुरा पनि घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण साँच्चिकै कम्युनिष्ट पार्टी छ त आज नेपालमा रु यो बहस आवश्यक छ । यो दार्शनिक रूपले, यो राजनीतिक रूपले, यो वर्ग संघर्षका दृष्टिकोणले, यो समाज परिवर्तनका दृष्टिकोणले यो छलफल बहस आजको आवश्यकता हो ।’

उनले क्रान्तिकारी मार्क्सवादी दिशाबाट मात्र समाज रूपान्तरण सम्भव हुने बताए । आफूले यही कुरा तत्कालीन माओवादी पार्टीमा उठाउँदा आफू निकालिनु परेको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =