तीन वटै तहको सरकारको सहकार्यमा मुलुकमा रोजगारीको अवसर सृजना गरिनेछः मन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काम भइरहेको बताए ।
उनले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यसहित तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । हामीले विदेशबाट फर्किएका नेपालीहरूको तथ्यांक सङ्कलन गरी उहाँहरूले के सिकेर आउनुभएको हो, कहाँ रुचि छ र कस्तो अवसर खोज्नुभएको छ भन्ने विषय बुझ्नुपर्छ,’ मन्त्री यादवले भने ।
उनले विदेशबाट फर्किएका श्रमिकहरूको सीप, ज्ञान र अनुभवको उपयोग गर्दै उनीहरूको क्षमताअनुसार मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक कार्यक्रम अघि बढाइएको बताए । साथै श्रम बजारमा बढ्दो माग भएका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने काम पनि भइरहेको उनको भनाइ थियो ।
मन्त्री यादवले सरकारले केवल नयाँ कार्यक्रम थप्नेभन्दा पनि दीर्घकालीन रूपमा प्रभावकारी हुने आधार निर्माणमा जोड दिएको बताए ।
‘हामी केवल कार्यक्रम थप्ने चरणमा मात्रै छैनौं, जग बसाल्ने चरणमा छौं । नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन । यो जग बसेपछि बजेट पनि त्यसैअनुसार बढाउँदै लैजानुपर्छ,’ उनले भने ।
उनले मन्त्रालयका लागि आवश्यक परे थप बजेट निकासा गर्न सकिने अवस्था रहेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले विदेशमा रहेका तथा फर्किएका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको हितमा उपयोग गर्न उनीहरूको विस्तृत तथ्यांक सङ्कलन गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।









