प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद अवरोध जारी रहने नेकपाको चेतावनी

काठमाडौं । प्रतिपक्ष दल नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म र संसदको अभिलेखबाट नहटाएसम्म विपक्षी दलहरूको विरोध जारी रहने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै हमालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने माग दोहोर्‍याए । उनले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको अडान रहेको बताए ।

‘हामीले माग गरिरहेका छौँ, प्रधानमन्त्रीले बोलेका कुराहरू फिर्ता लिनुस् र माफी माग्नुस्,’ उनले भने, ‘त्यति मात्रै होइन, संसदको रेकर्डबाट, अभिलेखबाट पनि ती शब्द हटाइनुपर्छ ।’

सांसद हमालले यस विषयमा सभामुख डोलप्रसाद अर्यालसँग पटक–पटक छलफल भए पनि अपेक्षित परिणाम नआएको गुनासो गरे । माग सम्बोधन नभएकै कारण संसदमा विरोध जारी राख्नुपरेको उनले बताए ।

‘यतिका दिन भइसक्यो, सभामुखज्यूसँग हामीले कुराकानी पनि गर्‍यौँ । तर प्रतिफल अपेक्षित आएको छैन,’ उनले भने, ‘त्यसैले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यस्तै राख्ने हो कि परिवर्तन गर्ने हो ? सभामुखले यथाशीघ्र जानकारी दिनुपर्‍यो र रुलिङ गर्नुपर्‍यो ।’

हमालले सभामुखसँग विपक्षी दलको विरोध कार्यक्रमबारे स्पष्ट धारणा माग गर्दै सदनको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरे ।

बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणप्रति पनि विश्वास व्यक्त गरे । मन्त्री खनालको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए ।

‘हाम्रा परराष्ट्रमन्त्रीजी चीनको मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ । हामी विश्वास गर्दछौँ, उहाँले दुई देशबीचको सम्बन्धलाई प्रगाढ रूपमा अघि बढाउन मद्दत गर्नुहुनेछ,’ हमालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =