दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्रबीचको सहकार्य अपरिहार्य

काठमाडौँ। श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशाला’ मा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

रोजगार सेवा केन्द्रहरू र निजी क्षेत्रबीचको विद्यमान सहकार्य तथा संलग्नताको विस्तृत अवस्थागत अध्ययन गरी रोजगार सेवा केन्द्र, रोजगारदाता तथा सीप विकास तालिम प्रदायकबिच दिगो, प्रभावकारी र परिणाममुखी साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिँदो विश्वव्यापी श्रम बजार, प्रविधिको बढ्दो प्रभाव तथा नेपालका रोजगार सेवा केन्द्रहरूलाई बजारको मागअनुसार सञ्चालन गर्ने उपायबारे गहन छलफल भएको थियो।

कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा आन्तरिक रोजगार समन्वय महाशाखा प्रमुख हेमराज तामाङले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि तथा कार्यक्रमको प्रभावकारिताका लागि सरोकारवालाबिच गहन छलफल गरी स्पष्ट रोडम्याप बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले सेवा केन्द्रहरूलाई रोजगारदाता र रोजगार खोज्ने जनशक्तिबिचको दूरी कम गर्ने पुलका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

“यसमा निजी क्षेत्रको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ। उद्योगहरूलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने विषयमा स्पष्ट समन्वय हुनुपर्छ। सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार छ,” उनले भने। सेवा केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि मन्त्रालय सरोकारवालाहरूका सुझावका आधारमा नीतिगत सुधार गर्न तयार रहेको उनको भनाइ थियो।

तामाङले सीप, रोजगार तथा उद्यम कार्यविधि तयार भई सबै रोजगार सेवा केन्द्रमा पुगिसकेको र अब केन्द्रहरूले सोहीअनुसार काम गर्न सक्ने जानकारी दिए।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्कानले रोजगार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको समान जिम्मेवारी रहने बताए। नेपालले आफ्ना युवाहरूलाई डिजिटल श्रम बजारमा प्रतिस्पर्धी बनाउन सामाजिक सुरक्षा र श्रमिकको हकहित सुनिश्चित गर्दै रोजगार सेवा केन्द्रहरूलाई परियोजनामुखी नभई आफ्नै कार्यक्रमका रूपमा अघि बढाए सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।

उनले सेवा केन्द्रहरूलाई आधुनिक प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आइएलओले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले रोजगारदाताहरू केवल रोजगारी दिने संस्था मात्र नभई गतिशील र उत्तरदायी श्रम बजार निर्माणका मुख्य साझेदार भएको बताए।

“हाम्रा उद्योग–व्यवसायलाई दक्ष, सीपयुक्त र उत्पादक जनशक्तिको आवश्यकता छ भने अर्कोतर्फ हजारौँ युवाहरू रोजगारीको खोजीमा बाहिरिइरहेका छन्। यो खाडल पुर्न रोजगार सेवा केन्द्र र निजी क्षेत्रबिचको साझेदारीलाई थप मजबुत बनाउनुपर्छ,” उनले भने।

पाण्डेले डिजिटल प्लेटफर्ममार्फत सिर्जित रोजगारीका अवसरलाई प्रोत्साहन गर्न र रोजगार सेवा केन्द्रहरूले रोजगार खोज्ने व्यक्ति तथा रोजगारदाताबिचको दूरी कम गर्न अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले यो लक्ष्य निरन्तर संवाद, पारस्परिक विश्वास तथा सार्वजनिक र निजी क्षेत्रबिचको सुदृढ सहकार्यबाट मात्र हासिल गर्न सकिने बताए।

महासङ्घका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले रोजगार सेवा केन्द्रहरूले स्थानीय तहमा श्रम बजार सूचना, रोजगार परामर्श, सीप विकासका अवसर तथा रोजगारदातासँग प्रभावकारी समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे।

उनले रोजगार सेवा केन्द्रहरूको प्रभावकारिता अभिवृद्धि गर्न सेवा प्रवाहको गुणस्तर, तथ्याङ्क व्यवस्थापन, डिजिटल प्रणालीको उपयोग तथा निजी क्षेत्रसँगको कार्यगत समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने बताए।

कार्यक्रमको प्राविधिक सत्रमा स्रोत व्यक्ति महेश हाडा र हंसराम पाण्डेले मधेस र सुदूरपश्चिम प्रदेशस्तरीय कार्यशालाबाट प्राप्त सुझावहरू प्रस्तुत गर्दै राष्ट्रिय सरोकारवालाहरूबाट प्राप्त सुझावका आधारमा रणनीतिलाई अन्तिम रूप दिइने बताए।

यस्तै विभिन्न सङ्घसंस्था तथा नगरपालिकाबाट सहभागी प्रतिनिधिहरूले रोजगार सेवा केन्द्रहरूलाई अझ उपयोगी र व्यावहारिक बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा देशभित्रै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने गरी रणनीति तयार गर्नुपर्ने सुझाव दिएका थिए।

महासङ्घका सहायक निर्देशक हरि पौडेलले उक्त सुझावहरूलाई रणनीतिमा समेटिने जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =