भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताए ।
‘कला र साहित्य राष्ट्रको बल र पहिचान हो,’ मन्त्री तिमिल्सिनाले भने ‘भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।’
उनले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गरे । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उनले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पुर्याएको अनुभव सुनाए ।
उनले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताए । ‘हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,’ उनले भने ।
समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताए ।
‘सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो,’ उनले भने ‘त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ । आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।’
विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्था कमजोर बन्न भएका उनको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताए ।
‘अब सुधार कसरी गर्ने भन्ने सवालमा सरकार जिम्मेवार र जवाफदेही बन्छ,’ मन्त्री तिमिल्सिनाले भने ‘यसमा सबै क्षेत्रको साथ आवश्यक छ । संस्थाहरू पनि नयाँ बल, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको देख्न पाइयोस् भन्ने अपेक्षा छ ।
गोरखापत्र संस्थानलाई अझ ओजपूर्ण, व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पारे ।
कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गरे । नयाँ प्रविधिको उपयोग आवश्यक भए पनि पठन संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
वरिष्ठ कथाकार भाउपन्थीले साहित्य सिर्जना, प्रकाशन र प्रवद्र्धनका लागि राज्यका तर्फबाट पनि लगानी आवश्यक रहेको बताए । पछिल्लो समय साहित्यिक पत्रिकाहरूको प्रकाशन क्रमशः बन्द हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले सिर्जनशीलताका आयामहरू फरक–फरक ढङ्गले विकास भइरहेकाले तिनलाई समयानुकूल संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।








