सरकारको दाबी- अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त छ

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयहरूमा सरकारको धारणा स्पष्ट पारेका छन् ।
मन्त्री पोखरेलकाअनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको जवाफ संघीय संसद् र संसदीय समिति दुवैमा दिइसकेका छन् ।
उनले अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको बताए । उनले आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने समेत स्पष्ट पारे ।
उनले भने ‘अर्थमन्त्रीज्यूले सदन र समितिमा यसबारे प्रस्ट पारिसक्नुभएको छ । हाललाई योभन्दा बाहेक थप केही गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छैन ।’
विधेयक निर्माण र कानुन संशोधनका विषयमा बोल्दै मन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयहरूबाट प्राप्त प्रस्तावहरू मन्त्रिपरिषद्मा छलफल भई पारित भएपछि मात्र थप जानकारी दिइने बताए ।
यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसइई) सँग जोडिएका अनियमितताका प्रसङ्गमा मन्त्री पोखरेलले हालसम्म मन्त्रालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् ।
यद्यपि, परीक्षा सञ्चालनमा कुनै कमजोरी वा अनियमितता भएको पाइएमा त्यसमा संलग्न जोसुकैमाथि छानबिन गरी कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।








