राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग

काठमाडौँ । आर्थिक विधेयकमार्फत करका दर हेरफेर र बजेटपूर्व सूचना चुहाएको आरोपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्नुपर्ने माग राष्ट्रिय सभामा समेत उठेको छ ।
सभाको शुक्रवारको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले वाग्लेमाथि छानबिन गर्न माग गरेका हुन् ।
सांसद अधिकारीले संसदमा टेबुल भइसकेको विधेयकमा संशोधन संसदले मात्र गर्नसक्ने संवैधानिक व्यवस्था रहेको समेत उल्लेख गरे ।
उनले भने ‘संसदमा टेबुल भएको अर्थ विधेयकमा अस्पष्टता र भाषिक त्रुटि सच्याउन भन्दै अर्थ मन्त्रालयले ल्याएको पाँच बुँदे पत्रमा करका दरमा हेरफेर गरिएको छ । बजेट भाषणको मुखैमा ठुलो परिणाममा ईभी गाडी भित्रिनु, यता अर्थ विधेयकमा करका दरमा हेरफेर भएर आएको विषयलाई सर्वत्र शंकाको रूपमा हेरिएको छ । विधेयकमाथि विचार गरियोस् भनेर रुलिङ समेत नहुँदै करका दरमा हेरफेर गर्नुको हतारो के हो ? माननीय अर्थमन्त्रीज्यूसँग उठेको प्रश्नमाथि छानबिनको माग गर्दछु ।’
उनले बजेट भाषणको मुखैमा ठुलो परिणाममा विद्युतीय सवारी भित्रिनु र अर्थ विधेयकमा करका दरमा हेरफेर भएर आएको विषयलाई सामान्य रूपमा लिन नसकिने बताए ।








