प्रेस स्वतन्त्रता र सूचनाको हकको रक्षाका लागि बबरमहलमा पत्रकारको धर्ना

काठमाडौँ। सरकारले गरेको विभेदकारी सूचना विज्ञापन सम्बन्धी निर्णय खारेज गर्न तथा प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले दबाबमूलक धर्ना कार्यक्रम सुरु गरेको छ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय सर्कुलरअनुसार बबरमहलस्थित सडक विभाग परिसर बाहिर ब्यानर र प्लेकार्डसहित धर्ना कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा भएको धर्नामा शाखाका सचिव रमेश कुमार बोहरा लगायत दुई दर्जन हाराहारी सञ्चारकर्मीको सहभागिता रहेको छ।
धर्नामा सहभागी पत्रकारहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको सूचना विज्ञापन सम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले उक्त निर्णयले सञ्चारमाध्यमहरूबिच विभेद सिर्जना गर्नुका साथै प्रेस स्वतन्त्रतामाथि समेत प्रतिकूल असर पार्ने बताएका छन्।
पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको संरक्षण गर्न, नागरिकको निर्बाध सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा सञ्चार क्षेत्रलाई कमजोर बनाउने नीतिगत निर्णयहरू सच्याउन सरकारसँग माग गरेका छन्।
धर्नाका क्रममा सहभागीहरूले ‘प्रेस स्वतन्त्रता जिन्दाबाद’, ‘नेपाल पत्रकार महासङ्घका मागहरू तत्काल सम्बोधन गर’, ‘निर्बाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’, ‘जिम्मेवार पत्रकारिता हामी गर्छौँ, प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौँ’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
महासङ्घले सञ्चार क्षेत्रलाई सङ्कुचित बनाउने तथा विभेदकारी नीति ल्याउने सरकारी कदमविरुद्ध आफ्ना दबाबमूलक आन्दोलनका कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।








