सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौँ । उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ ।

मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् ।

पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई परिवारसँग पुनर्मिलन गराउन सकिन्छ । उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ । कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिँदै उनले भने, “हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकाको मानवोचित बसोबासका लागि कामपाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।”

“पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो”, उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनुपर्नाको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षालगायत विषयमा जानकारी लिएका थिए ।

खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उहाँले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशनसमेत दिनुभएको थियो । उक्त दिन उद्धार गरिएकामध्ये चार जनामा मानसिक समस्या छ । एक ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ ।

उद्धारबाट ह्वीलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका इन्चार्ज पौडेलले जानकारी दिए ।

उद्धार भएकामध्ये छ जना महिला र बाँकी सबै पुरुष छन् । ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =