रास्वपाको प्रस्तावित विधानमा परिवारवाद र नातावादमाथि कडा बन्देज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित नयाँ विधानमा परिवारवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्ने व्यवस्था गरेको छ ।
सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारी केन्द्रीय सदस्यहरूलाई वितरण गरेको प्रस्तावित विधानमा एकै परिवारका एकभन्दा बढी सदस्य समान तहका समिति, विभाग, आयोग वा अन्य संयन्त्रमा नियुक्ति, मनोनयन वा निर्वाचनमार्फत सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।
प्रस्तावित विधानअनुसार पार्टीका केन्द्रीय तथा प्रदेश तहका सदस्यहरूको परिवारबाट पार्टीका कुनै पनि निकाय तथा पार्टीको तर्फबाट राज्यका विभिन्न निकायमा नियुक्ति वा मनोनयनका लागि सिफारिस गर्न नपाइने उल्लेख गरिएको छ ।
विधानमा ‘परिवार’ को परिभाषासमेत स्पष्ट गरिएको छ । जसअनुसार पति, पत्नी, बाबु, आमा, सौतेनी बुवा, सौतेनी आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, नाति, नातिनी, बाजे, बज्यै, ठूलो बुवा, ठूली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली तथा उनीहरूका पति वा पत्नीलाई परिवारको सदस्य मानिनेछ ।
पार्टीले आधारभूत लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तलाई पार्टी सञ्चालनको मूल आधार बनाउने प्रस्तावित विधानमा उल्लेख गरेको छ । पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू यिनै सिद्धान्तअनुसार निर्देशित हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
रास्वपाले पार्टीभित्र पारदर्शिता, सुशासन र अवसरको समान वितरण सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरेको जनाएको छ ।








