नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस–बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘nBank’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।

त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरूलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । ‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भा.रु १५ हजार र मासिक अधिकतम भा.रु १ लाख सम्म पठाउन सक्नेछन् । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा.रु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन ।

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) को सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ ।

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =