एनआईसी एशिया बैंकद्वारा तीन संस्थालाई सहयोग सामग्री

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरूलाई विभिन्न सहयोग सामग्रीहरू प्रदान गरेको छ ।
बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरू सहयोग प्रदान गरेको हो ।
ज्येष्ठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरू हस्तान्तरण गरे ।
उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई खान बस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, ज्येष्ठ २२ गते सम्पन्न अर्को एक कार्यक्रमका बीच वीरगन्जका सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरे । साथै, सोही दिन सम्पन्न अर्को एक कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरे ।
श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरू र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।
असहाय, अशक्त तथा पाका उमेरका व्यक्तिहरूलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरूको दैनिक जीवन अझ सहझ तथा स्वास्थ्यकर हुनुको साथै सरकारी/सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।








