सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।

पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।

गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

उनका अनुसार पहिरोले पाँचपन–चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।

कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण आज बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =