मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन अनिवार्य हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका विषयमा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरूले सजाय नपाएको अवस्था दोहोरिन नहुने बताए ।

उनले नेपाली कांग्रेस अहिले नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै मानव अधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे ।

यसैबीच मानव अधिकार आयोगले उठाएका प्रश्न र सिफारिसलाई गम्भीर रूपमा लिइएको बताउँदै उनले प्रतिवेदन कार्यान्वयनलाई अब राजनीतिक प्रतिबद्धताको विषय बनाइने बताए ।

थापाले भने, ‘मानव अधिकार आयोगका प्रतिवेदनहरू यसअघि पनि धेरै पटक आए, सिफारिसहरू पनि भए, तर तिनको कार्यान्वयन भएन । यदि ती सिफारिसहरूको कार्यान्वयन भएको भए धेरै मानव अधिकार हननका दोषीहरूले सजाय पाउने थिए र पीडितहरूले न्याय पाउने अवस्था हुन्थ्यो । यो प्रश्नलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’

उनले राज्य पक्षबाट बल प्रयोगका क्रममा सीमा उल्लंघन भएको र गम्भीर मानव अधिकार हनन भएको उल्लेख गर्दै यस्ता घटना कानुनअनुसार दण्डनीय हुने धारणा समेत राखे ।

उनका अनुसार प्रतिवेदनले आन्दोलनका क्रममा प्रारम्भिक चरणमा शान्तिपूर्ण विरोध र अभिव्यक्ति स्वतन्त्रताको माग देखाए पनि पछि योजनाबद्ध हिंसात्मक घुसपैठ भएको निष्कर्ष निकालेको छ ।

थापाले भने, ‘भदौ २३ गते ठूलो घटना भयो । राज्यले बल प्रयोगका क्रममा सीमा नाघेको र मानव अधिकारको गम्भीर उल्लंघन भएको छ । यस्ता घटना क्षमायोग्य हुँदैनन्, कानूनअनुसार दण्डको भागीदार हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो ।’

उनले विगतका घटनामा धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै पीडित परिवारप्रति संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए । साथै आगामी दिनमा पार्टीले यस्ता विषयलाई व्यवहारमै सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =