निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छ: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयुक्त सगुनशमशेर राणाले प्रस्तावित निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पारित भए निर्वाचन प्रणालीमा देखिएका करिब ९० प्रतिशत समस्या समाधान हुने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएको जानकारी दिँदै उक्त विधेयक, २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनभन्दा पहिले पारित हुनुपर्नेमा जोड दिए । उनले विगतमा समेत निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक गृहमा पठाएको भएपनि संसदमा पेस हुनै नसकेको उल्लेख गरे ।
उनले भने ‘अब छिट्टै २०८४ सालमा प्रदेश र स्थानीय तहको निर्वाचन आउँदै छ । उक्त निर्वाचनको तयारीस्वरुप हामीले कानुन बनाउनुपर्छ । अहिले भर्खरै पनि हामीले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएका छौँ । विगत पनि पठाएका थियौँ, संसदमा जान सकेन । यो पटक संसदबाट पास हुने विश्वास छ । यो विधेयक पास भयो भने अहिलेको निर्वाचनसम्बन्धीका ९० प्रतिशत समस्या हल गर्छ । हामीले त उहिल्यै विधेयकको मस्यौदा पठाएको हो भएन । यो पटक विधेयकमाथि विचार विमर्श भइदियोस् भन्ने हाम्रो कामना छ ।’
उनले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विभिन्न कोणबाट ऐतिहासिक भएको पनि बताए । उनले निर्वाचनको क्रममा दलहरूले भौतिक रुपमाभन्दा बढी सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको समेत बताए ।








