अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै त्यहाँ गाडिएका आणविक सामग्रीहरू निकाल्न र नष्ट गर्न दुवै देश सहमत भएको दाबी गरेका छन् ।
एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले युद्ध समाप्त भएपछि अमेरिकी अधिकारीहरूले इरानी पक्षसँगको समन्वयमा इरानभित्र प्रवेश गरी ती सामग्रीहरू प्राप्त गर्ने जानकारी दिए ।
क्षेत्रीय तनाव र हालैका आक्रमणका बाबजुद पनि अप्रिलको सुरुदेखि लागू भएको अमेरिका–इरान युद्धविराम कायम रहेको ट्रम्पले बताए । उनले जारी वार्तामा प्रगति भइरहेको र आगामी सप्ताहन्तसम्ममा एउटा अन्तरिम सम्झौता हुनसक्ने सङ्केतसमेत गरे । वार्तामा केही उतारचढाव आए पनि निकट भविष्यमा नै अमेरिकी टोली इरान जानेमा उनी विश्वस्त देखिन्छन् ।
यसैबीच, इरानको सरकारी टेलिभिजन आईआरआईबीले ओमानको खाडीमा रहेको एक अमेरिकी युद्धपोतको कमान्ड सेन्टरलाई इरानी जलसेनाले निसाना बनाएको दाबी गरेको छ । इरानले अमेरिकी सेनाले हर्मुज जलसन्धिको नियम उल्लंघन गरेको र इरानी जहाजहरू विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकाले उक्त प्रतिक्रिया जनाएको बताएको छ ।
यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले इरानको उक्त दाबीलाई आधिकारिक रूपमा खण्डन गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत जारी एक विज्ञप्तिमा अमेरिकाले इरानी दाबी असत्य रहेको स्पष्ट पारेको छ ।








