नाइजेरियामा विद्यार्थी अपहरण

एजेन्सी । उत्तर–पश्चिमी नाइजेरियामा सशस्त्र आपराधिक गिरोहद्वारा सात जना विद्यार्थी अपहरणमा परेका छन् ।
प्रहरीका अनुसार घटनापछि एक विद्यार्थी भाग्न सफल भएका छन् भने अन्यको खोजी कार्य जारी छ ।
स्थानीय सुरक्षा निकाय र समुदायका बासिन्दाले ‘डकैत’ भनेर चिनिने यस्ता सशस्त्र समूहहरू दुर्गम गाउँहरूमा छापा मार्ने, घरहरू लुट्ने, सम्पत्ति नष्ट गर्ने र फिरौतीका लागि मानिसहरू अपहरण गर्ने गतिविधिमा संलग्न रहेको बताउँदै आएका छन् ।
यस्ता घटनाहरू विशेष गरी उत्तर पश्चिम र मध्य नाइजेरियाका क्षेत्रमा बारम्बार दोहोरिँदै आएका छन् ।
जामफारा राज्य प्रहरीका प्रवक्ता याजिद अबुबकरका अनुसार मङ्गलबार राति कौर नमोदा प्रशासनिक क्षेत्रको बाहिरी भागमा रहेको फेडरल पोलिटेक्निक नजिकको विद्यार्थी आवासमा आक्रमणकारीहरूले हमला गरेका थिए ।
त्यस क्रममा सुरक्षा निकाय घटनास्थलतर्फ परिचालित भए पनि आक्रमणकारीहरूले सात जना विद्यार्थीलाई अपहरण गरी अज्ञात स्थानतर्फ लगेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार अपहरणमा परेका विद्यार्थीमध्ये एक जना भाग्न सफल भई सुरक्षित अवस्थामा फेला परेका छन् । अन्य विद्यार्थीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार अभियान जारी रहेको सुरक्षा निकायले जनाएको छ ।
यस घटनाले नाइजेरियामा विद्यालय सुरक्षाबारे गहिरिँदो चिन्ता पुनः सतहमा ल्याएको छ । पछिल्ला दिनहरूमा देशका प्रमुख सहरहरूमा सयौँ शिक्षकहरूले सशस्त्र समूहद्वारा विद्यालयलाई लक्षित गरी भइरहेका अपहरण र आक्रमणविरुद्ध विरोध प्रदर्शनसमेत गरेका छन् ।
गत महिना मात्रै दक्षिणपश्चिमी ओयो राज्यमा तीनवटा विद्यालयका कम्तीमा ४६ जना विद्यार्थी तथा कर्मचारी अपहरणमा परेका थिए ।
सोही दिन उत्तरपूर्वी बोर्नो राज्यमा पनि दुई वर्षका साना विद्यार्थीसहित कम्तीमा ४२ जना अपहरणमा परेका थिए ।
त्यसैगरी सन् २०२५ को अन्तिम त्रैमासिकमा पनि विद्यालय अपहरणका शृङ्खलाबद्ध घटनाहरू भएका थिए । नोभेम्बरमा केब्बी राज्यमा करिब २४ जना छात्रा अपहरणमा परेका थिए भने सोही महिनामा नाइजर राज्यमा करिब ३०० विद्यार्थी तथा धेरै शिक्षकलाई सशस्त्र समूहले नियन्त्रणमा लिएको घटनाले अन्तर्राष्ट्रिय तहमा पनि नाइजेरियाको सुरक्षा अवस्थाबारे चिन्ता बढाएको थियो ।
नाइजेरियाका विभिन्न भागमा बढ्दै गएको यस्ता अपहरण घटनाले विशेष गरी विद्यालय र ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने नागरिकको सुरक्षा अवस्थालाई थप चुनौतीपूर्ण बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।








