सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा जीवितै फेला

काठमाडौँ । सगरमाथा क्षेत्रमा ६ दिनदेखि सम्पर्कविहीन रहेका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा जीवितै फेला परेका छन् ।
खोजी अभियानमा संलग्न पेम्बा शेर्पाका अनुसार दावा आज बिहान खुम्बु आइसफल क्षेत्रमा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए। आरोहण सम्पन्न गरी फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि निरन्तर अभियान सञ्चालन गरिएको थियो ।
फेला परेका दावालाई उपचारका लागि अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएका उनका तस्वीरहरूमा हातका औँलामा चोट तथा घाउ देखिएको छ ।
दावा शेर्पा यही जेठ १५ गते सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट सम्पर्कविहीन भएका थिए। छ दिनपछि उनी जीवितै फेला परेपछि परिवार, आफन्त तथा पर्वतारोहण समुदायमा राहतको अनुभूति भएको छ ।








