निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो

झापा । मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ ।

परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब पाँच किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरुवा रोपिएका हुन् ।

“बाँसका बिरुवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्”, उनले भने, “बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भूक्षय नियन्त्रण हुन्छ ।” नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर वडा नं. ७ र १५ का नदी तटीय क्षेत्रमा आठ हजार बाँसका बिरुवा रोप्ने योजना तर्जुमा गरेको छ ।

नदी कटान तथा भूक्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बङ्गलादेशी काँडे बाँस’ प्रजातिका बिरुवा रोपिएका हुन् । झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो ।

जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ । कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो ।

यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको छ । यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरुवा रोपिएका थिए । यसले पनि भूक्षय नियन्त्रण गरेको छ ।

मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन् । बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ । ढुङ्गा–जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =