सुजन र सरस्वती समाजका उदाहरण

बागलुङ । कुनै समय समाजले प्रश्न उठाएका सुजन र सरस्वतीका सम्बन्ध सबैका लागि २५ वर्षपछि प्रेरणाको स्रोत बन्न पुगेको छ ।

सुजन र सरस्वतीले २५ वर्षअघि अन्तरजातीय विवाह गरेका थिए । त्यो समयमा समाजले अन्तरजातीय विवाह सजिलै स्वीकार गर्दैनथ्यो ।

यद्यपि उनी दुवैले बागलुङ बजारको मुख्य चोकमा वि.सं २०६० भदौदेखि दुई वटा मेसिनबाट जनप्रिय टेलर्स स्थापना गरे ।

फलस्वरूप मनग्य आम्दानी मात्र गरेनन्, अन्य छ व्यक्तिलाई रोजगारी दिएका कारण समाजमा उनीहरूको चर्चा चुलिएको छ ।

सङ्घर्षपूर्ण जीवन पार गर्दै अहिले सफल व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका खड्काको टेलरिङ व्यवसाय अहिले बागलुङ बजारकै राम्रो चलेको व्यवसायमा पर्छ ।

कष्टले गाउँबाट सहर छिरेको सो जोडी कुनै बेला समाजबाट अस्वीकार थियो । अहिले त्यही समाजको उद्यमी बन्न सफल भएका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका परियार र बानपा–८ सिगानाकी खड्काबीच विसं २०५७ मा चिनजान भएको थियो ।

एसएलसी परीक्षा दिन बजार आएकी खड्का र सिलाइ काम गर्दै अध्ययन गरिरहेका परियारबीचको प्रेम सम्बन्ध २०५८ जेठ १९ गते विवाहमा रूपान्तरण भएको थियो ।

विवाहपछि बुटवलको सुख्खानगरमा बस्दा धेरै नै दुःख पाएका परियारले कुनै बेला बाग्लुङमा कोठा भाडा पाएका थिएनन् ।

उनकी श्रीमती सरस्वतीलाई माइती पक्षले समेत स्वीकार गर्न १२ वर्ष लगाएको सुजनले बताए । अहिले भने दुवैतर्फ पारिवारिक सम्बन्ध सामान्य बनेको छ । मेहनत र ग्राहकको विश्वासले व्यवसाय विस्तार हुँदै गएको उनीहरूले बताए ।

‘अन्तरजातीय विवाह सफल बनाउन आत्मनिर्भर हुनुपर्छ,’ सुजनले भने । ‘घरपरिवारको भरमा भन्दा आफैँ सक्षम भएर सङ्घर्ष गर्न सक्नुपर्छ,’ सरस्वतीले भनिन् ।

समाजमा अझै पनि जातीय विभेदपूर्ण रूपमा अन्त्य नभएको उल्लेख गर्दै उनीहरूले मान्छेलाई जातका आधारमा विभेद गर्न नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =