इबोला संक्रमण नियन्त्रण गर्न केन्याले बढायो सीमा क्षेत्रमा निगरानी र सतर्कता

एजेन्सी । केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तीव्रता दिएको छ ।

राष्ट्रपति विलियम रुटोले भाइरसको जोखिम न्युनिकरणका लागि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिएकाे छ । राजधानीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य स्क्रिनिङको व्यवस्थालाई थप सुदृढ बनाइएको छ । विमानस्थलको सीमा व्यवस्थापन टोलीले अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विशेष निगरानी बढाइएको जनाएको छ ।

जसअन्तर्गत, इबोलाको उच्च जोखिम रहेका मुलुकहरूबाट आउने यात्रुहरूका लागि विमानस्थलको गेट नम्बर १६ लाई छुट्टै तोकिएको छ । विमानस्थलको निरीक्षणपश्चात् जनस्वास्थ्य तथा व्यावसायिक मापदण्ड सचिव मेरी मुथोनीले भाइरस रोकथामका लागि सरकारले कडा नियन्त्रणका उपायहरू अवलम्बन गरेको बताए ।

उनले इबोला भाइरसको प्रवेश रोक्न विभिन्न निकायबीचको समन्वय र एकीकृत प्रयास (मल्टी–एजेन्सी एप्रोच) मा जोड दिएका छन् । सम्भावित खतराहरूलाई समयमै सम्बोधन गर्न सबै सीमा नाकाहरूमा कर्मचारीहरूको संख्या बढाइएको र उनीहरूलाई सिफ्ट अनुसार परिचालन गरिएको समेत सचिव मुथोनीले जानकारी दिए ।

नयाँ स्वास्थ्य मापदण्ड (प्रोटोकल) अनुसार केन्या भ्रमण गर्ने सबै यात्रुहरूले अनिवार्य रूपमा अनलाइन ‘सेल्फ–चेक’ फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त फारममा यात्रुले आफ्नो हालैको भ्रमण विवरण र स्वास्थ्य अवस्थाको पूर्ण जानकारी उपलब्ध गराउनुपर्नेछ । अध्यागमन प्रक्रिया पूरा गर्नुअघि स्वास्थ्य सम्बन्धी यी विवरणहरू अनिवार्य गरिएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =