भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्छः सांसद शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले प्रतिशोध, विभेद र चयनात्मक न्यायको बाटो नअपनाई सरकारले भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने बताएकी छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा गम्भीर मानवअधिकार उल्लंघन तथा संगठित आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको बताइन् ।
उनले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरिन् ।
सांसद शर्माले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत प्रतिवेदनले प्रश्न उठाएको बताइन् ।
उनले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक निकाय भएकाले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।
सांसद शर्माले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरेकी छन् ।








