नेकपा स्थानीय तह विभागको प्रशिक्षण: ८४ को निर्वाचन लक्षित १० बुँदे कार्यदिशा पारित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला–२०८३’ १० बुँदे कार्यदिशा पारित गर्दै सम्पन्न भएको छ ।

जेठ १३ र १४ गते आयोजित दुई दिने भेलाले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि विशेष मार्गनिर्देशन तय गरेको हो ।

भेलाले स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारका रूपमा स्थापित गर्दै जनसेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेको छ । यस वर्षलाई ‘कार्यसम्पादन केन्द्रित वर्ष’ का रूपमा मनाउने निर्णय गर्दै अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने नीति लिइएको जनाइएको छ ।

कार्यदिशामा सेवा प्रवाहलाई छिटो, सरल तथा प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, वित्तीय अनुशासन र बेरुजु व्यवस्थापनमा कडाइ गर्ने विषय समेटिएको छ ।

पार्टी नेता अग्निप्रसाद सापकोटाले भेला विचार, विधि, प्रविधि र संगठन गरी चार मुख्य एजेन्डामा केन्द्रित रहेको बताए । उनले आगामी निर्वाचनका लागि पार्टीले आन्तरिक सुदृढीकरण र संगठन समायोजनलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले भने, ‘आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिएको हो । अहिलेको प्रविधिको युगमा विचार र विधिसँगै प्रविधिलाई जोडेर लैजानु अनिवार्य छ । हामी पहिला आफ्नै पार्टीलाई एकताबद्ध बनाउँछौँ, त्यसपछि संयुक्त मोर्चा बनाएर वा कम्युनिस्ट पार्टीको पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ ।’

सापकोटाले पार्टीको वर्गीय दृष्टिकोणमा केही कमजोरी रहेको स्वीकार गर्दै अब दलित, महिला, आदिवासी जनजाति तथा सुकुम्बासीका मुद्दामा थप प्रभावकारी रूपमा काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र कार्यक्रममा सहभागी नहुने भन्ने विषयलाई उनले ‘अस्वाभाविक’ कदमको संज्ञा दिए । यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उनको भनाइ थियो ।

काठमाडौंमा सम्पन्न भेलामा सातै प्रदेशका इन्चार्ज, संयोजक, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।

भेलाले प्रत्येक स्थानीय तहमा नमुना तथा उदाहरणीय काम गर्दै समाजवादउन्मुख नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने संकल्पसमेत गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =