अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढ्दै

काठमाडौं । अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ । हाल वयस्क नेपालीमध्ये २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक सार्वजनिक भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको सेवन, शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपान, मानसिक तनाव, वायु प्रदूषण र सहरीकरणका कारण उच्च रक्तचापको जोखिम बढिरहेको बताएका छन् ।
उनका अनुसार नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ । तीमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट हुने मृत्यु २७.३६ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन का अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।
उच्च रक्तचाप भएका धेरै व्यक्तिलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नै नहुने गरेको चिकित्सकहरू बताउँछन् । नियन्त्रणका उपाय उपलब्ध हुँदाहुँदै पनि चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दैनिक कम्तीमा ३० देखि ४५ मिनेट व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, पर्याप्त निद्रा लिन र तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ ।









