नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गर्ल्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितलाई आफ्नो सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत फेनले नेपालको शैक्षिक क्षेत्रमा बेलायती सहयोगलाई मुख्य तीन स्तम्भमा आधारित रहेको उल्लेख गरे ।

उनले नेपालले शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गर्दै भौगोलिक चुनौतीका बाबजुद हरेक बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सफल हुनु ठूलो उपलब्धि भएको बताए। तर अबको मुख्य चुनौती पहुँचभन्दा माथि उठेर गुणस्तरीय नतिजा हासिल गर्नु रहेको उनको भनाइ थियो ।

राजदूत फेनका अनुसार ‘विद्यालय शिक्षा क्षेत्र कार्यक्रम’ मार्फत आधारभूत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार तथा युनिसेफसँग सहकार्य गरिरहेको छ ।

उनले ‘ट्रान्सन्याशनल एजुकेशन’ (सीमापार शिक्षा) लाई नयाँ बेलायती सरकारको प्राथमिकतासँग मेल खाने उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रण गरे । निजी क्षेत्रको सहकार्य र शैक्षिक साझेदारीले नेपाल–बेलायतबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्ध अझ सुदृढ बनाउने उनको विश्वास थियो ।

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको ‘पास्टोरल केयर’ (हेरचाह र अभिभावकत्व) लाई विशेष महत्व दिइएको उल्लेख गर्दै उनले केही विद्यार्थी पर्याप्त अंग्रेजी ज्ञान बिना वा आर्थिक ऋणको बोझसहित पुग्दा मानसिक तथा सामाजिक दबाबमा पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

विद्यार्थीहरूले एक्लोपन वा असुरक्षा महसुस नगर्नु पर्ने बताउँदै उनले लण्डनस्थित नेपाली दूतावास, बेलायत–नेपाल सोसाइटी तथा नेपालका शिक्षा र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

राजदूत फेनले महिला नेतृत्व र सशक्तीकरणलाई प्रोत्साहन गर्न ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टूर्नामेन्ट’ आयोजना गर्ने योजना अघि बढाइएको पनि बताए । खेलकुदमार्फत महिला सहभागिता र नेतृत्व विकासमा योगदान पुग्ने उनको अपेक्षा थियो ।

‘यदि कुनै बेलायती विश्वविद्यालयले नेपाली विद्यार्थीको हितमा ध्यान नदिएको पाइएमा म स्वयं उपकुलपतिलाई फोन गरेर ध्यानाकर्षण गराउनेछु,’ राजदूत फेनले भने ।

उनले नेपालका विकास आवश्यकताहरूलाई सम्बोधन गर्न बेलायत सरकार सधैं तत्पर रहेको र शिक्षाका सबै क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =