फिर्केखोला अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन डोजर परिचालन

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आईतवार बिहानदेखि डोजर परिचालन गरेको छ ।

फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो । महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो ।

सो अध्ययनका क्रममा ८ किलोमिटर लामो यस खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो । महानगरको प्रतिवेदनअनुसार ती संरचनाहरूमध्ये ९७ वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन् ।

अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवनसमेत पर्दछन् ।

महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्रका संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आह्वान गरेको थियो । सूचनाको अवज्ञा भएपछि महानगरले आईतवार बिहानैदेखि फिर्केखोलाका तीन फरक स्थानबाट डोजर चलाएर संरचना भत्काउन शुरु गरेको हो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =