धनुषा–महोत्तरीमा १० डिपटयुवेलका ट्रान्सफर्मर चोरी

जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान गरिएका १० वटा डिपटयुवेलका ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सेवा अवरुद्ध भएको छ ।

मधेस प्रदेश जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयका निमित्त प्रमुख एवं इञ्जिनियर अमलेश यादवका अनुसार धनुषाको औरही–१ पौडेश्वर, औरही–२ परवाहा, नगराइनको फूलगामा तथा महोत्तरीको पिपरा, मटिहानी, मनरासिस्वा, बर्दिवास, जलेश्वर र बलवा नगरपालिकाका विभिन्न स्थानमा ट्रान्सफर्मर चोरी भएका हुन् ।

एक ट्रान्सफर्मर जडान गर्दा करिब ६ लाख रुपैयाँ खर्च लाग्ने कार्यालयले जनाएको छ । विगत तीन वर्षमा क्रमशः यी ट्रान्सफर्मर चोरी भएको इञ्जिनियर यादवले बताए ।

उनका अनुसार ट्रान्सफर्मरमा तामाको क्वायल हुने भएकाले चोरीका घटना बढ्दै गएको छ ।

सिँचाइ सुविधा अवरुद्ध हुँदा किसानहरू समस्यामा परेका छन् । महोत्तरीको बर्दिवास–२ का किसान रमेश साहले आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

डिभिजन कार्यालयका अनुसार धनुषा–महोत्तरीका ग्रामीण क्षेत्रमा डिपटयुवेल र पावरड्रिलमार्फत सिँचाइ सुविधा विस्तार भइरहेको छ । एउटा डिपटयुवेलले करिब ४० बिघा र पावरड्रिलले करिब ९ बिघा जमिन सिँचाइ गर्न सक्ने क्षमता रहेको छ ।

हालसम्म दुवै जिल्लामा ३५ वटा डिपटयुवेल र ५० वटा पावरड्रिल सञ्चालनमा छन् । एउटा डिपटयुवेल निर्माणदेखि सञ्चालनसम्म एक करोडभन्दा बढी लागत लाग्ने र पावरड्रिलमा करिब १६ लाख रुपैयाँ खर्च हुने कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयका अनुसार हालसम्म १,८५० बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । उपभोक्ता समितिमार्फत निर्माण हुने यस्ता संरचनामा बजेट कटौती र चोरीका घटनाले सेवा विस्तारमा चुनौती थपिएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =