पछिल्लो प्रदर्शन नेपालको क्रिकेट स्तर उकासिएको संकेत हो: रोहित पौडेल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद् अन्त्य गरेको छ । श्रृङ्खलाको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अमेरिकामाथि सहज जित हात पारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको वर्तमान प्रदर्शनले नेपालको बढ्दो क्रिकेट स्तरलाई प्रतिबिम्बित गरेको बताएका छन् । घरेलु मैदानमा सम्पन्न स्कटल्यान्ड र अमेरिकासँगको श्रृङ्खलाबारे प्रतिक्रिया दिँदै कप्तान पौडेलले दुवै टोली बलियो भएपनि नेपालले उच्चस्तरको क्रिकेट खेलेको दाबी गरे ।
कप्तान पौडेलले पछिल्लो समय टोलीको ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन भइरहेको बताए । अघिल्ला श्रृङ्खलाहरूमा शीर्ष क्रमका ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको स्मरण गर्दै उनले यस पटक शीर्ष चार ब्याटरको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
टोलीमा आएको परिवर्तन र रणनीतिका बारेमा बोल्दै रोहितले माथिल्लो क्रममा बायाँ हाते ब्याटरको आवश्यकता इशान पाण्डेले पूरा गरेको बताए । बायाँ हाते ब्याटर हुँदा विपक्षीको ‘लेफ्ट आर्म स्पिन’लाई निस्तेज पार्न र ‘राइट–लेफ्ट’ कम्बिनेसन मिलाउन सहज भएको उनको विश्लेषण छ । लामो समयको प्रतीक्षापछि टोलीमा फर्किएका इशानले आफूलाई प्रमाणित गरेकोमा कप्तानले खुशी व्यक्त गरे ।
व्यक्तिगत फर्मका बारेमा सोधिएको प्रश्नमा कप्तान पौडेलले रन बनाउन पाउँदा राहत महशुस भएको बताए ।
लिग–२ को तालिकामा शिर्ष चारभित्र पर्ने सम्भावनाबारे कप्तान पौडेल निकै आशावादी देखिएका छन् । पछिल्ला ८ खेलमध्ये ६ खेलमा जित निकाल्नुले टोलीको मनोबल उच्च रहेको उनको भनाइ छ । यद्यपि, आगामी नेदरल्यान्ड्स र ओमान भ्रमण चुनौतीपूर्ण हुने उनले स्वीकार गरे ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरे पनि कीर्तिपुरको मैदानमा पछिल्लो समय पहिले ब्याटिङ गर्ने टोलीलाई फाइदा पुगिरहेकाले रणनीतिक रूपमा नेपाल सफल भएको कप्तानको निष्कर्ष छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते ब्याटर इशान पाण्डेले लामो समयको प्रतिक्षा र मेहनतपछि राष्ट्रिय टोलीमा सफल पुनरागमन गरेका छन् । घरेलु क्रिकेटमा निरन्तरको प्रदर्शनपछि टोलीमा स्थान बनाएका पाण्डेले पछिल्ला खेलहरूमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । आफ्नो पुनरागमन र हालैको प्रदर्शनबारे बोल्दै पाण्डेले यसलाई बीउ उम्रिएर फूल फुल्न थालेको अवस्थाका रूपमा चित्रण गरेका छन् । लामो समयदेखि राष्ट्रिय टोलीबाट कल अपको अपेक्षा गरिरहेका उनले यस पटक व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको जितमा योगदान पु¥याउनुलाई आफ्नो मुख्य लक्ष्य बनाएको बताए । प्रशिक्षक र व्यवस्थापनले आफूलाई स्पष्ट जिम्मेवारी दिएको पाण्डेले जानकारी दिए ।
टोलीका प्रारम्भिक ब्याटरहरू कुशल भुर्तेल र आसिफ शेखले आक्रामक शुरुवात गरिदिँदा आफू र रोहित पौडेल जस्ता ब्याटरहरूलाई इनिङ्स अगाडि बढाउन सहज हुने उनको अनुभव छ । विशेष गरी अमेरिकी टोलीको ब्याटिङ गहिराइलाई मध्यनजर गर्दै २६० देखि २७० रनको लक्ष्य तय गरिएको र सोही अनुरूप ब्याटिङ अगाडि बढाइएको उनले बताए ।
टोलीमा बायाँहाते ब्याटरको उपस्थितिले रणनीतिक रूपमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पाण्डेले आफू सधैं टोलीको आवश्यकता पूरा गर्न तयार रहेको बताए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जर्सी लगाउनु आफैँमा चुनौतीपूर्ण रहेको र यसले जिम्मेवारीको छुट्टै बोध गराउने उल्लेख गरे ।
नयाँ खेलाडीहरूका लागि घरेलु क्रिकेटको महत्वबारे चर्चा गर्दै उनले रन बनाउनु मात्र पर्याप्त नभई टोलीलाई जिताउन सक्ने क्षमता विकास गर्नु अनिवार्य रहेको बताए । पाण्डेका अनुसार नेपाल टोलीको ढोका त्यस्ता खेलाडीका लागि सधैं खुला रहन्छ, जसले टोलीको जितका लागि निर्णायक भूमिका खेल्न सक्छन् ।
पाण्डेको पुनरागमनपछि नेपालले लगातार तीन खेलमा जित हासिल गरेको छ । जसलाई उनले आफ्नो व्यक्तिगत सफलताभन्दा पनि टोलीको सामूहिक उपलब्धि र सुखद् संयोगका रूपमा लिएका छन् ।








