सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता, मजदुर संगठनद्वारा आफ्नै संरचना हटाउन सुरु

काठमाडौं । सार्वजनिक जग्गा संरक्षण गर्ने पोखरा महानगरपालिकाको अभियानलाई समर्थन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्ना भौतिक संरचनाहरू हटाउन सुरु गरेको छ ।
महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेपछि महासंघले पोखरा–९ स्थित सार्वजनिक जग्गामा बनेका भवनहरू आफैँ भत्काउन थालेको हो ।
महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमका अनुसार सार्वजनिक जग्गाको संरक्षण हुनुपर्ने र कानुनको पालना आफ्नै संस्थाबाट सुरु गर्नुपर्ने मान्यतासहित यो कदम चालिएको हो ।
महासंघले आफ्नै उपकरण र जनशक्तिको प्रयोग गरेर संरचना हटाउने काम सुरु गरेको जनाएको छ । महानगरले दिएको ३५ दिने समयसीमा सकिनुअघि नै संरचना हटाएर उदाहरणीय काम गरेको दाबी महासंघको छ ।
यसैबीच, सार्वजनिक जग्गामा बनेको एउटा पक्की भवन भने नभत्काई पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिएको महासंघले जनाएको छ ।
हाल भाडाको घरबाट सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालय उक्त भवनमा सार्न उपयुक्त हुने महासंघको ठहर छ ।
‘पोखराका विभिन्न सार्वजनिक जग्गामा थुप्रै संघसंस्थाका भवन बनेका छन्, ती सबै हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो,’ अध्यक्ष गौतमले भने, ‘महानगरको अभियानलाई सहयोग गर्न हामीले आफ्नै संरचनाबाट सुरुवात गरेका हौँ ।’
महासंघले सार्वजनिक जग्गामा संरचना बनाएका अन्य संघसंस्थालाई पनि आफ्ना भवन हटाएर महानगरको अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।








