जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी

बागलुङ । निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् ।

घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् ।
बिरामी हुनेहरुमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीय दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीय शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीय पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहनुभएको छ । बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको मानन्धरले जानकारी दिए ।

बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिए ।

सूचना अधिकारी अर्यालका अनुसार, बिरामीहरु चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरु देखिएको छ ।

नियमित जस्तै उनीहरु आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =