युवाको भविष्य सुनिश्चित गर्न संविधान संशोधन आवश्यक: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधन प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने बताएका छन् ।
वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले बदलिँदो समय र युवा पुस्ताको चाहनाअनुसार संविधानलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गरे ।
शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षालाई सही ढंगले सम्बोधन गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए । संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
‘अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुन सक्छ,’ उनले भने, ‘अहिलेको “अल्फा जेनेरेसन” वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।’
शर्माले नेपाली काँग्रेस ले संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न पुष्पा भुसाल को नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी पनि दिए ।
उनका अनुसार उक्त प्रक्रियामा पार्टीभित्र र बाहिरका बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकबाट रचनात्मक सुझाव लिने तयारी गरिएको छ ।
आजको युवा पुस्ताको मुख्य चाहना ‘लोकतन्त्र र विकास’ रहेको उल्लेख गर्दै शर्माले लोकतान्त्रिक प्रणालीभित्रै रहेर यी दुवै लक्ष्य हासिल गर्न काँग्रेस प्रतिबद्ध रहेको बताए ।
देश सबैको साझा आँगन भएको उल्लेख गर्दै उनले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।








