मुलुक निर्वाचित अधिनायकतर्फ जान खोज्दैछ: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्न खोजेको टिप्पणी गरेका छन् ।

३३ औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले देशको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको बताएका हुन् ।

ज्ञवालीले वर्तमान सरकार बनेको करिब ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य, मान्यता र संस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको दाबी गरे ।

उनले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति तथा सुकुम्बासीमाथि ‘डोजर आतंक’ चलाइएको आरोप लगाए ।

‘देशको राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको देखिरहेका छौँ,’ उनले भने, ‘ट्रेड युनियन खारेज गर्ने प्रयास, स्ववियु कमजोर बनाउने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतर्फ अघि बढ्न खोजेको संकेत देखिन्छ ।’

उनले सरकारले संसद्, राष्ट्रपति, न्यायालय तथा संवैधानिक आयोगजस्ता निर्वाचित र संवैधानिक संस्थाहरूको अवमूल्यन गरिरहेको आरोप पनि लगाए ।

ज्ञवालीले यस्तो परिस्थितिमा बलियो लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको बताए । संसद्मा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भए पनि जनता, सञ्चारमाध्यम र सामाजिक संघसंस्थाले लोकतान्त्रिक उपलब्धि जोगाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

‘लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको बाटो तय गर्न अहिलेको समयले हामीलाई कठोर अग्निपरीक्षाको सामु उभ्याएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =