कांग्रेसले वैचारिक धरातल गुमाउँदै गएको छ: विपिन अधिकारी

काठमाडौं । संविधानविद् विपिन अधिकारीले नेपाली काँग्रेस आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तबाट क्रमशः विचलित हुँदै गएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेस व्यक्तिकेन्द्रित राजनीतिबाट बाहिर निस्केर स्पष्ट नीति, कार्यक्रम र सिद्धान्तमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
अधिकारीले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी)को उदाहरण दिँदै कुनै पनि राजनीतिक दल सफल हुन दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति आवश्यक पर्ने बताए ।
उनले बीपी कोइराला को नेतृत्वकालमा काँग्रेस असाधारण र उत्कृष्ट पार्टीका रूपमा स्थापित रहेको स्मरण गरे । सीमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद तत्कालीन नेताहरूमा उच्च राजनीतिक प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।
बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्म अहिले हराउँदै गएको अधिकारीको भनाइ थियो । ‘सिंगापुर निर्माणमा पीएपीको अनुशासन, स्वच्छ छवि र कठोर संघर्षले काम गरेको छ,’ उनले भने, ‘तर हाम्रो सन्दर्भमा काँग्रेसले आफ्नो आदर्श र भुइँतहका मुद्दाहरूलाई छोड्दै गएको देखिन्छ ।’
उनले कुनै समय काँग्रेसको एजेन्डामा कृषि र किसान प्राथमिकतामा रहेको उल्लेख गर्दै सुवर्ण शमशेर ले प्रस्तुत गरेको बजेटदेखि बीपीका नीतिसम्म भुइँतहका मानिसको अवस्था सुधार्ने स्पष्ट मार्गचित्र रहेको बताए ।
‘अहिले “जोत्नेको जमिन” जस्ता आधारभूत सिद्धान्तहरू हराएका छन्,’ उनले भने, ‘पार्टीले किसान संगठन तथा ग्रामीण मुद्दासँगको सम्बन्ध गुमाउँदै गएको छ ।’
अधिकारीले पार्टी व्यक्ति विशेषको इच्छाअनुसार नभई तय गरिएका नीति र कार्यक्रमका आधारमा सञ्चालन हुनुपर्ने धारणा राखे । राष्ट्रिय स्तरमा लोकतन्त्रको वकालत गर्नुअघि दलभित्रै लोकतान्त्रिक अभ्यास र अनुशासन मजबुत बनाउनुपर्ने उनको सुझाव थियो ।
उनले दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वका लागि तयार पार्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याए ।
विश्वका अन्य लोकतान्त्रिक दलहरूको उदाहरण दिँदै उनले न्युजिल्याण्डको लेबर पार्टी, स्विडेनको सोसल डेमोक्रेटिक पार्टी तथा जर्मनीका विभिन्न राजनीतिक दलहरूले गठबन्धन संस्कृतिमा रहेर पनि आफ्नो मूल्यमान्यता र अनुशासन जोगाएको बताए ।
संविधानविद् अधिकारीले काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरण प्रक्रियामाथि समेत प्रश्न उठाए । सत्ता केन्द्रित राजनीतिका कारण पार्टीका मूल्यमान्यता कमजोर बन्दै गएको भन्दै उनले चुनावी हार वा पराजयलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा मानेर आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिए ।








